इलाम बन्यो कोरोनामुक्त जिल्ला
इलाम । कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो ।
गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो ।
जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।
जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो।रासस
Facebook Comment