नेपाल र ओमनबीच श्रम सम्झौताको तयारी अन्तिम चरणमा

डिसी नेपाल
१२ असोज २०७७ १९:२०

काठमाडौं। नेपाल र ओमनबीच श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। दुई देशबीच छिट्टै श्रम सम्झौता हुने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार सोमबार ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमनका श्रममन्त्री डा महद बिन सईद बिन अलि बाउइनसँग शिष्टाचार भेट गरेकी थिइन्। उनकै कार्यकक्षमै भएको उक्त भेटमा राजदूत पराजुलीले ओमनका सुल्तानद्बारा श्रम मन्त्रीको रुपमा नियुक्त भएकोमा मन्त्री बाउइनलाई बधाइ समेत दिएकी थिइन्।

भेटमा मन्त्री बाउइनले ओमनको परराष्ट्र नीति, श्रम नीति तथा जनशक्तिको अवस्थालगायत आगामी दिनमा ओमनको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा राजदूत ढकाललाई जानकारी गराएका थिए। उनले नेपाली कामदारको प्रशंसा गर्दै आगामी दिनमा नेपाली कामदारको संख्या बढाउने गरी अझै बढी सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।

भेटमा दुबैजनाले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गरेका थिए। दुवै पक्षले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

राजदूत पराजुलीले सन् २०२० को शुरुमा नेपालको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्वारा ओमनलगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमनसम्बन्धी प्रतिवेदनका बारेमा पनि जानकारी गराएकी थिइन्।

अहिले झन्डै १५ हजार नेपाली रोजगारीका लागि ओमनमा कार्यरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *