बालुवाटारमा ओली–प्रचण्डबीच दैनिक भेटवार्ता, मन्त्रिपरिषद पुनर्गठन अझै अन्याेलमा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आकस्मिक मन्त्रिपरिषद बैठक बोलाए।
मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले बोलाएको आकस्मिक बैठकलाई केही मन्त्रीलाई बिदाइ गर्न बोलाइएको अर्थमा धेरैले बुझे। बैठकका एजेण्डा नपठाएका कारण मन्त्रीहरु पनि अन्यौलमा थिए। झण्डै दुई घण्टा चलेको बैठकले विभिन्न मन्त्रालयगत निर्णय ग-याे।
गत बिहीबार बसेको मन्त्रिपषिद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन हुने संकेत गरेका थिए। प्रधानमन्त्री ओलीले बैठकमा अन्य कारणले नभइ पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताएका थिए।
मन्त्रिपरिषद पुनर्ठनका विषयलाई लिएर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दैनिकजसो बालुवाटारमा भेटवार्ता हुन्छ।
सोमबारपनि प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका थिए। अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ जस्तो छलफल भएपनि मन्त्रिमण्डल पुनर्गठनको विषयले सार्थकता पाउन सकेको छैन।
यसअघि बिहीबार, शुक्रबार र आइतबार दुई अध्यक्षबीच छलफल भए पनि मन्त्रिपरिषद कसरी पुनर्गठन गर्नेबारे निष्कर्ष निस्केको थिएन।
खासगरी मन्त्रिमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रीमण्डल पुनर्गठनमा ढिलाइ भएको हो।
प्रधानमन्त्री ओली केही मन्त्रीलाई विदा दिएर केहीमन्त्री थप गर्ने पक्षमा छन् भने प्रचण्ड पुराना हटाएर सबै नयाँ अनुहार ल्याउने भन्ने पक्षमा रहेको स्रोतले दाबी गरेको छ। उनीहरुबीच अझैसम्म ठोस सहमति जुट्न सकेको छैन।
समाचार स्रोतका अनुसार मन्त्रालय फुटाएर भएपनि एक दुई दिन भित्र निकास दिने गृहकार्य सुरु भएको छ। भदौ २६ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले पनि मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा निर्णय गरेको थियो। आवश्यक मापदण्ड बनाएर मन्त्रीमण्डल पुनर्गठन गर्ने नेकपाले निर्णय गरेको थियो।
Facebook Comment