नेपालको सीमा चीनले होइन भारतले मिचेको छ
काठमाडौं। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालको सीमा चीनले नभइ भारतले मिचेको बताएका छन् । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई दिएको एक अन्तरवार्तामा राजदूत पाण्डेले चीनसँग नेपालको कुनै पनि सीमा विवाद नरहेको बताउँदै चीन र नेपालको सम्बन्ध अटुट रहेको बताएका छन् ।
राजदूत पाण्डेले पछिल्लो समय भारतीय मिडियामा गलत समाचार आइरहेको बताउँदै ती समाचार तथ्यमा आधारित नभएको र पूर्वाग्रहबाट ग्रसित भएको बताए । भारतीय मिडियामा आइरहेका विषय डरको अभिव्यक्ति भएको बताउँदै राजदूत पाण्डेले भारत कुनै बेला एक उपनिवेश रहेको तर नेपाल सधैं एक स्वतन्त्र देश रहेको बताए । नेपाल कुनै पनि विचारधारा वा कुनै शक्तितर्फ नझुकेको बताउँदै पाण्डेले भने ‘भारतीय मिडिया पूर्वाग्रहबाट ग्रसित छन् वा अलमलिइरहेका छन् त्यसैले उनीहरु यस्ता फर्जी समाचार र प्रोपोगण्डा छापिरहेका छन् तर यो वास्तविकता होइन ।’
नेपाल र भारतबीच केही भूभागमा लामो समयदेखि समस्या रहेको बताउँदै राजदूत पाण्डेले चीनसँग भएका समस्याहरु पहिले नै एक सम्झौता गरेर सुल्झाइएको र अब नेपाल र चीनबीच कुनै समस्या नरहेको बताए । पाण्डेले भारतले नेपालको केही भूभाग कब्जा गरेको बताए । १९६२ मा चीन र भारतबीच युद्ध हुँदा भारत पराजित भएपछि भारतीय सेना अस्थायी रुपले नेपालमा बसेको बताउँदै पाण्डेले पछि भारतले त्यो जमिन आफ्नै भएको दावी गर्न थालेको आरोप लगाए ।
Facebook Comment