फ्रन्टमै खटिएका कर्मचारीमा कोरोना पुष्टि भएपछि काठमाडौंबाट दिइने श्रम स्वीकृति बन्द

डिसी नेपाल
१४ असोज २०७७ १२:४६

काठमाडौँ । कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति बन्द गरिएको छ । फ्रन्ट डेस्कमै खटिएका एक जना कर्मचारीमा कोरोना देखिएपछि तत्तकालको लागि श्रम स्वीकृति दिने सेवा बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रशासन अधिकृत मात्रृका सापकोटाले डिसी नेपाललाई बताए ।

‘ फ्रन्टमा काम गरिरहनुभएका एक जनामा कोरोना संक्रमण देखिएपछि तत्तकालको लागि आजदेखि सेवा बन्द गरेका छौँ,’ उनले भने, ‘अहिले अन्य कर्मचारीको ट्रेसिङको काम भइरहेको छ । अर्काे सूचना नभएसम्मका लागि सेवा बन्द रहनेछ ।’ उनका अनुसार लक्षण देखिएपछि परीक्षण गर्दा ती कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *