अब नेपाली कामदार इजरायल जान पाउने, इजरायली कृषि प्रविधि नेपाल भित्रिने

डिसी नेपाल
१५ असोज २०७७ १०:५५

काठमाडौं। नेपाल र इजरायलबीच श्रम सम्झौता र नेपालका सातवटै प्रदेशमा इजरायली कृषि प्रविधि भित्र्याउन एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नेसम्बन्धी समझदारीपत्र (एमओयूू)मा हस्ताक्षर भएको छ।

जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा बुधवार आयोजित एक कार्यक्रमकाबीच दुई देशबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ र नेपालमा एग्रिकल्चर सेन्टर अफ एक्लिेन्स स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको तेलअबिबमा रहेको नेपाली दूतावासले जनाएको छ।

दुवै समझदारीपत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली विदेशमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका हुन्। असोज ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्झौतामा हस्ताक्षर गर्न राजदूत डा. शाक्यलाई अख्तियारी दिने निर्णय गरेको थियो।

केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल, रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने छ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने दूतावासले जनाएको छ। त्यस्तै पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भइ नेपाली युवाहरुको विदेशिने क्रममासमेत कमी आउने दूतावासको विश्वास छ। इजरायली कृषि प्रविधि भित्र्याउन भएको सो सम्झौताले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ।

त्यस्तै नेपाली फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल, रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने दूतावासले जनाएको छ। यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमाम हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने दूतावासले जनाएको छ।

दूतावासका अनुसार यसअघि नै विभिन्न चरणमा छलफल भइ सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र) मा नेपाली केयर गिभर लैजाने सम्बन्धी प्रोटोकलमा छिट्टै सम्झौता हुँदैछ।

नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच प्रोटोकलमामा काठमाडौंमा हस्ताक्षर हुने जनाइएको छ। त्यसपछि केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपालीहरु इजरायल जान पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *