उत्तर प्रदेशको गाजियाबादबाट १९ नेपाली बालबालिकाको उद्धार, ४ जना मानव तस्कर पक्राउ

डिसी नेपाल
१५ असोज २०७७ १३:४४

काठमाडौं। भारतको उत्तर प्रदेशको गाजियाबादबाट १९ नेपाली बालबालिकाको उद्धार गरिएको छ । मानव तस्करको जालोमा फसेर त्यहाँसम्म पुगेका बालबालिकालाई मंगलबार उद्धार गरिएको हो । पुलिसले मानव तस्करीको अभियोगमा एक महिलासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार दिल्ली महिला आयोगले दिएको उक सूचनाको आधारमा गाजियाबाद पुलिसले नेपालबाट बालबालिका लिएर गइरहेको बसलाई विजयनगरमा नियन्त्रणमा लिएको थियो । बसलाई नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरिएको विजयनगर थाना प्रमुख महावीर सिंह चौहानले पीटीआइलाई बताए । उनका अनुसार पुलिसले एक महिला र तीन पुरुषलाई पक्राउ गरेको छ । उनीहरुले ती बालबालिकालाई उत्तराखण्डको बाटो हुँदै लैजाँदै थिए ।

दिल्ली महिला आयोगलाई गैर सरकारी संस्थाका कर्मचारीहरुको एक टिमले सूचना दिएको थियो । गैर सरकारी संस्थाका कर्मचारीहरुले नेपालमा रहेको आफ्नो स्रोतबाट बालबालिकाको तस्करी भएको सूचना पाएका थिए र उत्तर प्रदेशको गढ मुक्तेश्वरबाट उनीहरुले बसको पिछा गरिरहेका थिए । ती बालबालिकालाई विभिन्न घरमा घरेलु कामदार र उद्योगमा मजदूर बनाउनका लागि दिल्ली लगिँदै थियो । विजयनगरका थानाप्रमुख चौहानका अनुसार मानव तस्करीविरुद्धको कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । बालबालिकालाई मेडिकल परीक्षणपछि बालकल्याण समितिमा पठाइनेछ र त्यहाँबाट उनीहरुलाई घर पठाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *