नेपाली किशोरीलाई बचाउन नेपाल–भारत सीमाको झुला पुल २० मिनेटका लागि खोलियो

डिसी नेपाल
१५ असोज २०७७ १४:१३

काठमाडौं। एउटी नेपाली किशोरीको ज्यान बचाउनका लागि नेपाल भारत सीमाको झुला पुल २० मिनेटको लागि खोलिएको छ । नेपालको दार्चुला र भारतको पिथौरागढ जोड्ने यो पुल केवल २० मिनेटका लागि खोलिएको थियो । कोरोनाभाइरस संक्रमण फैलिन नदिनको लागि अहिले अन्तर्राष्ट्रिय सीमा बन्द गरिएको छ र यो पुल लामो समयदेखि बन्द थियो । तर, एक नेपाली किशोरीको स्वास्थ्यस्थिति गम्भीर भएर उनलाई उपचारको लागि भारत नगइ नहुने स्थिति आएपछि यो पुल २० मिनेटका लागि खोलेर उनलाई उपचारको लागि पिथौरागढ लैजान दिइएको थियो ।

न्यूज १८ का अनुसार भारतसँग जोडिएको दार्चुलाको मल्लिकार्जुनकी एक किशोरीको दार्चुला अस्पतालमा उपचार भइरहेको थियो । यही बीच उनको स्वास्थ्यस्थिति नाजुक भयो र उनलाई उपचारको लागि थप सुविधा भएको अस्पतालमा लैजानुपर्ने भयो । थप सुविधा भएको अस्पतालमा भारतमा भएको र अन्तर्राष्ट्रिय झुला पुल बन्द भएकोले उनीहरु भारत जान सकेनन् । समस्या भएपछि किशोरीका परिवारले नेपालका समाजसेवीको सहयोग लिएर पिथौरागढ जिल्ला प्रशासनसँग सहयोग मागे । यससँगै पिथौरागढ प्रशासनले पुल खोल्न आदेश दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि डिसीनेपालसँग पुल २० मिनेटका लागि खोलिएको पुष्टि गरेको छ । रिपोर्टका अनुसार केवल २० मिनेटका लागि झुला पुल खोलिँदा त्यहाँबाट दुई देशका १३८ जनाले आवतजावत गरेका छन् । भारतको सीमा सुरक्षा बलका इन्स्पेक्टर कश्मीर सिंहका अनुसार बिरामी बालिकालाई उपचारको लागि भारत लैजानुपर्ने थियो । यसका अलावा अन्य कैयौं मानिसहरुलाई पनि सीमा पार गर्नुपर्ने अति आवश्यक काम थियो । स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल र भारतका अधिकारीहरुले छलफल गरी पुल २० मिनेटको लागि खोलिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *