ओली र प्रचण्ड मिलेर एक्ल्याउन खाेजेकाे भन्दै नेपाल समूह सशंकित
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अमेरिका, बेलायत र अन्य केही मुलुकमा राजदूत नियुक्ती गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ। राजनीतिक नियुक्ती पार्टीसँगको छलफलमा गर्ने भनिएपछि प्रधानमन्त्री ओलीले एक लौटी गरेको भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन्।
यद्यपी नेपाल नेपालले दुई अध्यक्षको सहमतिमा प्रधानमन्त्रीले राजनीतिक नियुक्त गरेको हुन सक्ने आशंका गरेका छन्। यही विषयमा नेता नेपालले बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गरेको नेपाल निकट स्रोतले जनाएको छ।
पछिल्लो समय नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दैनिक बालुवाटारमा भेटवार्ता हुने गरेको छ। नेता नेपालले दुई अध्यक्षबीच सहमति भएर सरकारले राजनीतिक नियुक्ती गरेको हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन्।
‘दुई अध्यक्षबीच सहमति भएर पनि सरकारले राजनीतिक नियुक्त गरेको हुनसक्छ,’ नेपाल निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘दुई अध्यक्षबीच सहमति भएपछि त्यसलाई पार्टीको निर्णय भन्ने चलन पनि छ।’
यसअघि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यादलले पार्टीसँगको सल्लाहका सरकारले राजनीतिक नियुक्ती गर्नुपर्ने सुझाव दिएको थियो।
यद्यपि कार्यदलले दिएको सुझावप्रति नै वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका थिए। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न मुलुकमा राजदूत नियुक्त गर्न सिफारिस गरेसँगै नेता नेपाल समूह ओली–प्रचण्डसँग सशंकित बनेको हो। नेपाल समूहले ओली र प्रचण्ड मिलेर आफूलाई एक्ल्याउन खोजेको भन्दै सशंकित बनेका हुन्।
‘पहिलो पनि उहाँहरु (ओली–प्रचण्ड) मिलेर उहाँलाई (नेपाल) कर्नरमा पार्ने काम भएकै हो,’ नेपाल निकट स्रोतले भन्यो, ‘आफ्नो स्वार्थ पूरा गर्न साथ खोज्ने र स्वार्थ पूरा भएपछि एक्ल्याउने रणनीति पनि हुन सक्छ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार विभिन्न मुलुकमा राजदूत नियुक्त गरेपछि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमबीच टेफिलोन सम्वाद भएको थियो।
उनीहरुबीच सरकारले गर्ने राजनीतिक नियुक्ती पार्टीसँगको छलफलमा गर्ने भनिएपछि प्रधानमन्त्रीले एकलौटीका रुपमा नियुक्ती गरेको भन्दै पार्टी कमिटीको बैठकमा छलफल गर्नुपर्ने निष्कर्ष निकालेका थिए।
टेलिफोन सम्वादमा वरिष्ठ नेता खनालले दुई अध्यक्षको सहमतिमा सरकारले नियुक्ती गरेको हुन सक्ने भन्दै दुई अध्यक्षले गरेको सहमतिलाई पार्टी निर्णय भन्न नमिल्ने बताएको स्रोतले जनाएको छ।
जवाफमा वरिष्ठ नेता खनालले सरकारले गर्ने नियुक्ती पार्टी सल्लाहमा नै गरेको भए राम्रो हुन्थ्यो भन्ने जवाफ दिएको खनाल निकट स्रोतले जनाएको छ।
Facebook Comment