स्थानीय स्तरमा काँग्रेसको विरोध र समर्थन, केन्द्र तथस्ट

डिसी नेपाल
१६ असोज २०७७ १९:५३

काठमाडौं। प्रदेश नम्बर ५ को राजधानी र नामका विषयमा शुक्रबार प्रदेश सभा बुटवलमा प्रस्ताव पेश भएसँगै कतै समर्थन र कतै विरोधहरु शुरु भएका छन्। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको समर्थन पाएपछि प्रदेश ५ सरकारले शुक्रबार राजधानी दांगको देउखुरीमा र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको छ।

अस्थायी राजधानी तोकिएको बुटबलमा स्थायी राजधानी नहुने भएपछि रुपन्देही काँग्रेसले विरोध प्रदर्शनसमेत गरेको छ। रुपन्देही काँग्रेसका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गरेर विरोध प्रदर्शन गरिने बताएका छन्। नेविसंघ र तरुण दलले बुटबलमा टायर नै बालेर विरोध प्रदर्शन गरेका छन्।

उता दांगका काँग्रेस नेताहरुले भने प्रस्तावको समर्थन गरेका छन्। त्यस्तै स्यांजाका निवासी काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुंगले पनि प्रस्तावको समर्थन गरेका छन्। उनले शुक्रबार दिउँसो फेसबुकमा स्टाटस लेखेर प्रस्तावको समर्थन गरेका छन्।

राजधानीको विषयमा काँग्रेसका नेताहरु भौगोलिक रुपमा विभाजित देखिएपछि अजमस्सम परेको काँग्रेस केन्द्रले भने तथस्ट बस्ने संकेत देखाएको छ। डिसी नेपालसँग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो विषयमा काँग्रेस केन्द्रले कुनै स्थानीय समितिहरुलाई निर्देशन नदिने बताए। उनले स्थानीय स्तरमै यो विषयमा निर्णय हुने भन्दै सबैकुरा केन्द्रले लादेर नहुने बताए। उनले प्रदेश संसदीय दल, प्रदेशका समितिहरुले यो विषयमा स्वतन्त्र निर्णय लिन सक्ने बताए।

भौगोलिक हिसाबले सबैभन्दा अमिल्दो प्रदेश हो प्रदेश नम्बर ५। पूर्वमा नवलपरासीदेखि पश्चिममा बर्दियासम्म फैलिएको यो प्रदेशमा गुल्मी, स्यांजा, पाल्पा, रोल्पा, प्युठान र रुकुमसमेत पर्छन्। भूगोलका हिसाबले बुटवल एक किनारामा पर्छ भने देउखरी लगभग मध्य भागमा पर्छ। तर, यसअघि अस्थायी राजधानी बुटबल बनाइएकाले बुटवलवासीको महत्वाकांक्षा बढेकाले समस्या हुने देखिएको छ। तर, प्रदेश सभामा स्पष्ट बहुमत रहेको नेकपा सरकारले नै प्रस्ताव गरेकाले सो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *