अबको हप्ता कोरोना संक्रमित ट्रम्पको लागि सबैभन्दा जटिल, यी कारणले उनी खतरामा छन्
काठमाडौं। विश्वकै सबैभन्दा शक्तिशाली मानिने देश अमेरिकाका सरकार प्रमुख अर्थात सम्भवतः विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएका छन् । संक्रमण पुष्टि भएको भोलिपल्टै उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले विज्ञहरुलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्प तुलनात्मक रुपमा अधिक खतरामा रहेको बताउँदै अबको हप्ता उनको लागि सबैभन्दा जटिल हुने बताएको छ ।
रिपोर्टका अनुसार ट्रम्पको उमेर, उनको तौल र उनीमा पहिलेदेखि नै रहेका स्वास्थ्य समस्याले उनको शरीरमा कोरोनाभाइरस तुलनात्मक रुपमा अधिक खतरनाक हुन सक्छ । ट्रम्प ७४ वर्षका छन् र ओभरवेत अर्थात सामान्यभन्दा अधिक तौल भएका छन् । हुन त उनलाई अत्यन्तै उत्कृष्ट स्तरका स्वास्थ्य सेवा उपलब्ध गराइएका छन् तर उनलाई कोरोनाभाइरसबाट अतिरिक्त खतरा छ किनकि उनका कैयौं ‘रिस्क फ्याक्टर’ छन् ।
ट्रम्पलाई पहिलेदेखि मुटुको समस्या छ । मुटुको समस्या र उच्च कोलेस्टेरोलका लागि ट्रम्पले औषधि पनि सेवन गर्ने गरेका छन् । गएको जूनमा जारी गरिएको ट्रम्पको स्वास्थ्य जानकारीका अनुसार ट्रम्पको तौल ११० किलो पुगेको थियो अर्थात उनी अधिक मोटोपनाको दायरामा आइसकेका थिए । ट्रम्प कोरोना संक्रमित भएपछि ह्वाइट हाउसका अधिकारीले उनीमा हल्का लक्षण भएको बताएका थिए । उनीमा हल्का ज्वरो र खोकीको लक्षण थियो ।
अमेरिकाको वान्डरबिल्ट युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ विलियम स्काफनरका अनुसार ट्रम्प ७४ वर्षका छन्, तौल अधिक छ र पुरुष हुन् । यी तीन फ्याक्टरका कारण उनले कोरोनाको गम्भीर संक्रमणको खतराको सामना गरिरहेका छन् । स्काफनरका अनुसार ट्रम्प अबमा केही दिन ठिक देखिन सक्छन् तर अचानक गम्भीर लक्षणले घेरिन सक्छन् । शुक्रबार ट्रम्पलाई अमेरिकाको वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको छ ।
अस्पतालमा ट्रम्पलाई प्रेसिडेन्सियल सुइटमा उत्कृष्ट स्वास्थ्य सुविधा दिइएको छ र यहीँबाट उनले आफ्नो काम पनि जारी राख्नेछन् । रिपोर्टका अनुसार अझै केही दिन उनलाई यहाँ राखिनेछ र उनका कैयौं किसिमका जाँच गरिनेछ । ट्रम्पका डाक्टरले बताएअनुसार उनलाई भिटामिन डी, जिंक, मेलाटोनिन, फ्यामोटिडिन, एस्पाइरिन औषधि दिइएको छ । यसका साथसाथै एक्सपेरिमेन्टल एन्टिबडी पनि दिइएको छ । यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोना संक्रमणपछि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए । अहिले भने उनी निको भइसकेका छन् ।
Facebook Comment