प्रदेशको राजधानीका विषयमा प्रदर्शन भएपछि बुटवलमा ४ दिनका लागि निषेधाज्ञा
काठमाडौं । प्रदेश ५ को राजधानी दाङमा राख्ने प्रस्ताव गरेपछि बुटवलमा भएको विरोध प्रर्दशनलाई रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रदेश पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्ताव निर्णयका लागि प्रदेश सभामा पेश भएपछि बुटवलमा आन्दोलन सुरु भएको र आन्दोलनले हिंसात्मक रुप लिनसक्ने आशंका गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । बुटवल उपमहानगरपालिकाभित्र सरकारी सवारी साधन तोडफोड गर्ने, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरु देखिएको हुँदा चारदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शनिवार रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला भई प्रदेश ५ सरकारले प्रदेशसभामा पेश गरेको नयाँ प्रस्तावका सम्बन्धमा रुपन्देहीका सबै स्थानीय सरकारको ध्यानाकर्षण भएको जनाएका थिए । उनीहरुले आइतबार जिल्ला बन्दको कार्यक्रम समेत राखेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ्गमा राख्ने प्रस्ताव गरेसँगै रुपन्देहीको बुटवलमा विरोध शुरु भएको थियो । बुटवलमा विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले शुक्रबार दिउसो ५ वटा सरकारी गाडीमा तोडफोड गर्नुका गरेका थिए । अस्थायी राजधानी तोकिएको बुटवल वाट एकाएक नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नं ५ को स्थायी राजधानी बनाउनका लागि दाङको भालुवाङ्गस्थित राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगालाई समेट्ने गरी प्रस्ताव पेश गरेपछि सोको विरोधमा बुटवलमा निकालिएको विरोध प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले सडकमा सवार सरकारी गाडी माथि तोडफोड गरेका थिए ।
रुपन्देही प्रहरीका अनुसार सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो गाडी, कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं को गाडी र लु १ झ ४४९ नं गाडी पनि तोडफोड भएको थियो ।
यसैबीच ८७ सदस्यीय प्रदेश सभामा ६३ सदस्य रहेको नेकपा प्रदेश सभा संसदीय दलको बैठकले सरकारले पेश गरेको प्रस्तावको समर्थनमा मतदान गर्नका लागि ह्वीप जारी गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकपछि ह्वीप जारी गरिएको हो।
तर, संसदीय दलको बैठकमा रुपन्देही, परासी, पाल्पा र गुल्मीबाट प्रतिनिधित्व गर्ने विधायकहरुले भने सो प्रस्तावको विषयमा फरक मत राखेका थिए। डिसी नेपालसँग कुरा गर्दै पाल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा विधायक युवराज खनालले आफूहरुले फरकमत राखेको बताए। उनले दांगमा राजधानी कुनै पनि हिसाबले उपयुक्त नभएकाले आफूहरुले यो विषयमा समर्थन गर्न नसक्ने बताए। उनले यो विषयमा आफ्नो अडान यथावत राखिएने बताए। तर, ह्वीप भने उल्लंघन गर्न सकिने अवस्था नरहेको बताए।
Facebook Comment