कोरोना संक्रमण : नेकपा र कांग्रेस बैठक अनिश्चित

डिसी नेपाल
१८ असोज २०७७ ८:२४

काठमाडौं। शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसहित ७६ जनाको कोरोना पोजेटिभ भएको समाचार सार्वजनिक भयो।

शनिबार नै कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, गगन थापा, शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना पोजेटिभ देखिएको समाचार सार्वजनिक भयो।

बालुवाटारमा र कांग्रेस केन्द्रीय सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएपछि नेकपा सचिवालय बैठक र नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित बनेको छ। नेकपा सचिवालय बैठक आज बस्ने तय भएको थियो।

तर ठूलो संख्यामा बालुवाटारमा कोरोना पोजेटिभ देखिएपछि सचिवाल बैठक बस्ने नबस्ने अन्योल उत्पन्न भएको छ। प्रधानमन्त्री ओलीले सबेजसो भेटघाट बन्द गरेका छन्। यसअघि सचिवालय बैठक बालुवाटारमा बस्दै आएको थियो।

प्रधानमन्त्री ओलीले पार्टीसँग छलफल नै नगरी मुख्य सचिव र केही राजदूत नियुक्तीको सिफारिस गरेपछि पार्टीभित्र असन्तुष्टि उत्पन्न भएको थियो। सोही विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो।

सचिवालय बैठक शनिबार नै बस्ने तय भएको थियो। तर, अन्तिम अवस्थामा आइतबार (आज) बस्ने गरी बैठक सारिएको थियो।  उता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले फागुनमा गर्ने भनिएको महाधिवेशनलगायतका विषयमा छलफल गर्न सोमबार केन्द्रीय समिति बैठक बोलाएको थियो। तर चार जना केन्द्रीय सदस्यमा कोरोना पोजेटिभ देखिएपछि बैठक सर्ने संभावना रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *