अफगानिस्तान प्रिमियर लिग : सन्दीपको टिम सेमिफाइनलमा पराजित
काठमाडौं । सन्दीप लामिछाने रहेको टिम नगरहर लिओपार्डस युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटको सेमिफाइनलमा पराजित भएको छ।
शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा लिओपार्डस बल्ख लिजेन्ड्ससंग १७१ रनले पराजित भएको हो। तर, लिजेन्ड्सविरुद्धको सेमिफाइनल खेलमा सन्दीप टोलीमा परेका थिएनन्। पक्टिया प्यान्थर्सविरुद्ध डेब्यु गरेका सन्दीप लगातार दोस्रो पटक टिममा नपरेका हुन्।
युएईको शारजाहमा लिजेन्ड्सले दिएको २३६ रनको लक्ष्यसहित मैदान उत्रिएको लिओपार्डस १३ ओभर १ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो। लिओपार्डसका फजल नियाजाई र आन्द्रे फ्लेट्चरले समान १३/१३ रन जोडे। लिजेन्ड्सका मोहमद नाबीले ४ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिजेन्ड्सले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर २३५ रन जोडेको थियो। लिजेन्ड्सका लागि डरविस रासूलीले ७८, क्रिस गेलले ५४ तथा कप्तान मोहमद नाबीले ४७ रनको योगदान दिए। लिओपार्डसका बेन कुटिङले २ विकेट लिए।
अब उपाधिका लागि लिजेन्ड्सले काबुल र पक्टियाबीचको विजेतासंग खेल्ने छन्। फाइनल आइतबार हुनेछ।
Facebook Comment