उपत्यकामा आउजाउ बढ्यो, कोरोना गाउँगाउँ पुग्ने डर
काठमाडौं। दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् ।
सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ । विगतका वर्षहरुमा दशैंँ आउनुभन्दा १५ दिनअघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक रुपमा उपत्यका छाड्ने गरेका थिए । तर यो वर्ष दैनिक १६ हजारदेखि १८ हजारसम्मले उपत्यका छाडिरहेका छन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार केही दिनदेखि काठमाडौँ उपत्यकामा भित्रनेभन्दा बाहिरिनेको सङ्ख्या बढेको छ । तर यो सङ्ख्या शनिबारको रहेको र यो साता नियमित रुपमा संख्या गणना गरेपछि सङ्ख्याबारे थाहा हुने ढकालले बताए ।
‘केही दिनअघिसम्म दैनिक उपत्यका छाड्नेभन्दा भित्रनेको सङ्ख्यामा वृद्धि भएको थियो अहिले बाहिरिनेको सङ्ख्या बढेको छ’ उनले बताए। उनका अनुसार अहिले उपत्यका भित्रने र बाहिरिने सवारी साधनको सङ्ख्या बराबार जस्तै देखिए पनि बाहिरिने सवारी साधनको सङ्ख्या केही दिनदेखि बढेको छ ।
अहिले दैनिक चार हजार ८०० सम्म उपत्यकामा सवारी साधन प्रवेश गरेका छन् भने सोही सङ्ख्यामा उपत्यका बाहिरिने पनि छन् । अघिल्ला वर्षहरुमा यही समयमा दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेका थिए । गोरखापत्र दैनिकबाट
Facebook Comment