सहकारीको २५ वर्षे रणनीति तयार : उत्पादन, उद्यमशिलता र रोजगारीलाई जोड दिइने
काठमाडौं। राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीति तयार गरेको छ । सहकारीमार्फत उत्पादनमुलक काम र उद्यमशिलता तथा रोजगारी बृद्धिमा जोड दिँदै रणनीति तयार गरेको हो।
बोर्डले बुधबार औपचारिक कार्यक्रम गरी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई रणनीतिको मस्यौदा बुझाएको छ।
रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका निम्ती रणनीतिक दस्तावेज निर्माण गरेको बताइन्। ‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन्? अहिलेसम्म प्राप्त उपलब्धीहरु के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन’, मन्त्री अर्यालले भनिन् ।
अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ति स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले उल्लेख गरिन्।
सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको जानकारी दिइन्। ‘हामीसँग सहकारीका संख्याहरु धेरै छन्। सहकारी आर्थिक रुपमा सबल छ ।
सहकारीमा भएका पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनु पर्नेछ। व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको बताइन्।
संख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै सुशासलाई विशेषरुपमा जोड दिइएको उनले बताइन्।
तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडी बढ्नुपर्ने भन्दै उनले समृद्ध नेपाल सुखी नेपालीको सरकारी लक्ष्य हासिल गर्न यी सबैबीच सहकार्यको जरुरी रहेको उल्लेख गरिन्।
वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने समेत बताइन्। मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीति २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडी बढाउने भन्ने भिजनरी दस्तावेज भएको बताए।
रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडी बढाउने उल्लेख गरे। वोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई अगाडि बढाउने भन्ने योजनासहित २५ वर्षे रणनीति तयार गरेको जानकारी दिए।
Facebook Comment