मिटर रिडिङ नगरि जरिवाना !

रासस
२१ असोज २०७७ १८:१४

सर्लाही । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले मिटर रिडिङ नगरिकन जरिवाना असुलेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । कोभिड– १९ नियन्त्रणका लागि सरकारले लकडाउन गरेको समयमा आफूहरुको मिटर रिडिङ नगरी बसेको उक्त केन्द्रले जरिवानास्वरूप उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताहरुको भनाइ छ । उक्त केन्द्रका कर्मचारीले खपत शुल्कमा मनलाग्दो जरिवाना लिने गरेको स्थानीय उपभोक्ता श्याम लामाले बताए ।

विगत पाँच/छ महिनादेखि मिटर रिडिङ नगरी बसेका कर्मचारीले लकडाउन अलिसहज भएपछि बिलबमोजिमको रकम तिर्नका लागि सूचना जारी नगरी जरिवानासहितको शुल्क असुलेको अर्का स्थानीयवासी रमेश कार्की बताउँछन् ।

सरकारले लकडाउनको समयमा विद्युत महसुलको जरिवाना नलिन निर्देश गरेपनि उक्त केन्द्रले विनामिटर रिडिङ जरिवाना असुलेको गुनासो आएको हो । शुरु शुरुमा समस्या भएपनि अहिले त्यो समस्या समाधान भइसकेको र विद्युत उपभोक्तालाई सबै विकल्प उपलब्ध गराउँदा पनि उनीहरुले बेवास्था गरेका र सबैलाई यसबारे जानकारी नभएका कारण पनि समस्या आएको हुनसक्ने उक्त केन्द्रका प्रमुख सुधिरकुमार राय बताउँछन् ।

पहिलाको निर्णयअनुसार असोज ६ गतेपछि जरिवाना लिने भनिएकाले सोही अनुसार जरिवाना लिएको तर फेरी बिद्युत प्राधिकरणले असोज २२ गतेसम्म जरिवाना नलिने निर्णय गरेपछि पहिले लिइएका जरिवाना खपत युनिटबाट घटाउने निर्णय भएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *