ओली–प्रचण्डको दैनिक भेट : उपलब्धी शून्य

डिसी नेपाल
२२ असोज २०७७ १५:४२

काठमाडौं। पार्टी एकताका बाँकी कामलाई निष्कर्षमा पुर्याउने विषयमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पार्टी एकताका बाँकी काम निष्कर्षमा पुर्याउने विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

पछिल्लो समय अध्यक्षद्वयबीच दैनिक जसो भेटवार्ता हुने गरेका छन्। मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक आयोगमा नियुक्ती र पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएपनि ती छलफल निष्कर्षमा पुग्न सकेका छैनन्।

‘आज छलफल पार्टी एकतको बाँकी कामलाई निष्कर्षमा पुर्याउने विषयमा केन्द्रित थियो,’ प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले डिसी नेपालसँग भने, ‘त्यो बाहेक अन्य विषयमा छलफल नभएको उहाँले (प्रचण्ड) ले जानकारी दिनु भएको छ।’

भदौ २६ गते बसेको सचिवालय बैठकले मन्त्रिपरिषद हेरफेर र संवैधानिक आयोगमा पदाधिकारी, नियुक्ती चाँडो सुरु गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। यो बीचमा अध्यक्षद्वयबीच विभिन्न चरणमा छलफल भएका छन्। तर सहमति जुट्न सकेको छैन।

‘सबैभन्दा पहिला यी विषयमा अध्यक्षद्वयवीच सहमति जुट्नुपर्छ,’ नेकपा संसदीय दलका उपनेता सुझाव नेम्वाङले भने, ‘यीलगायतका विषयमा सहमति गर्ने पार्टीले अध्यक्षद्वयलाई दिएको छ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी एकता भन्दा पनि पहिला मन्त्रिपरिषद पुनर्गठन गर्न चाहन्छन्। प्रधानमन्त्री ओलीले हाल रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने र मन्त्रिपरिषद पुनर्गठन दशैं पछि गर्ने गरी सहमति जुटाउने प्रयास गरिरहेका छन्। तर यो विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा रिक्त मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने कामसमेत प्रभावित बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *