कर्णालीको नेकपा विवादबारे मन्त्रिपरिषद्मा छलफल, माथिका नेताले जे सिकायो त्यही गरेको प्रधानमन्त्रीलाई ओठे जवाफ

डिसी नेपाल
२६ असोज २०७७ २३:२६

काठमाडौं। सत्तारुढ दल नेकपाको कर्णाली प्रदेशमा जारी विवादबारे सोमबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई कर्णालीको विवादबारे सुनाएको एकमन्त्रीले बताए।

कर्णालीका मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका बहुमत विधायकहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। पूर्व एमालेहरु एकजुट भएर पूर्व माओवादीका नेता शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएपछि त्यसले केन्द्रीय राजनीति पनि तरंगित बनेको छ।

यही विषयमा सोमबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा छलफल गराएका हुन्। प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एकमन्त्रीले भने, ‘कर्णालीमा विवाद भएपछि मैले त्यहाँका नेताहरुलाई सोधेँ। अर्का अध्यक्ष (पुष्पकमल दाहाल प्रचण्ड)ले पनि सोध्नु भयो। मैले के गरेको यो तपाईहरुले भनेर सोध्दा, उताबाट हामीले केही गरेका छैनौ, तपाईँहरुले केन्द्रबाट जे सिकाउनु भयो त्यही गरेको भन्ने जवाफ आयो।’

स्मरणरोहस नेकपाको केन्द्रका विवाद हालै समाधान भएको थियो। नेकपा केन्द्रमा गएको असारमा शुरु भएको विवाद भदौ २६ मा आएर समाधान भएको थियो। प्रदेशका नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्षलार्ई यही विषय स्मरण गराएका हुन्।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले त्यसरी ओठे जवाफ दिने नेताको नाम भने नखुलाएको ती मन्त्रीले जानकारी दिए। तर, प्रधानमन्त्री ओलीसँग यसरी बोल्न सक्ने नेता भनेको अविश्वास प्रस्तावको अगुवाई गरेका नेता यामलाल कँडेल नै हुन्। यद्यपी उनैले यो जवाफ दिएको भने स्पष्ट छैन। कँडेल हाल ओली निकट छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *