कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाभित्र फेरि किचलाे

डिसी नेपाल
२७ असोज २०७७ ७:४४

काठमाडौं। कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आइतबार अविश्वासको प्रस्ताव गर्दा भएसँगै सत्तारुढ दल नेकपाभित्र पुन किचलो उत्पन्न भएको छ।

प्रदेशसभा सदस्य यामलाल कँडेलको नेतृत्वमा आइतबार नेकपा पूर्व एमालेका १५ र पूर्व माओवादी केन्द्रका तीन गरी १८ जनाले मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशसभा संसदीय दलका कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सशंकित भएका छन्।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवुकमार नेपालको योजनाअनुसार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको निष्कर्ष निकाल्दै पूर्वमाओवादी पक्ष पछिल्लो विकसित घटनाक्रम सहजै समाधान नभए प्रदेश १ र ३ मा मुख्यमन्त्री अविश्वासको प्रस्ताव दर्ता गर्ने निष्कर्षमा पुगेको स्रोतको दाबी छ।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीसँगको भेटमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको कार्यसम्पादन चित्त बुझ्दो नदेखिएको दाबी गर्दै कर्णाली प्रदेशमा देखिएको समस्या समाधान नगरिए राई विरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउने संकेत गरेका थिए।

पूर्व माओवादी केन्द्रका नेताहरूको योजनामै मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको दाबी गर्दै त्यसको असर अन्य प्रदेशमा पर्ने बताएका छन्। ‘प्रदेश ३ मा कर्णाली विद्रोह दोहोरिनसक्छ। प्रदेश नम्बर १ मा पनि त्यो समस्या पर्छ, त्यहाँको पर्फमेन्स हामीलाई पनि चित्त बुझेको छैन। काम पनि गर्न नदिने, गरेन भनेर अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ?’ प्रचण्ड निकट स्रोतले भन्यो।

‘कर्णालीमा जे भयो त्यो पार्टीको हितविपरीत भएको छ। यसले समग्र एकता प्रक्रियामै असर गर्छ,’ प्रधानमन्त्री ओलीसँगको छलफलमा कार्यकारी अध्यक्ष दाहालले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा तपाईं गम्भीर भएर पहल चाल्नुस्। यस्तो गतिविधिले समग्र पार्टी एकतामा समस्या ल्याउँछ।’

पूर्व माओवादीकोटामा मुख्यमन्त्री बनेका शाहीलाई हटाउने षड्यन्त्र भएको र त्यसको समाधानका लागि भन्दै सोमबार अध्यक्ष प्रचण्डले नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

ओली र दाहाल बीच भएको छलफलका क्रममा कर्णाली प्रदेशमा पार्टीकै सांसदबाट दलमा दर्ता गरिएको अविश्वासको प्रस्तावबारेमा प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले जिज्ञासा राखेका थिए।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार मन्त्रिपरिषद पुनर्गठनको विषयमा पार्टीभित्र छलफल भइरहेकैबेला अकस्मात अविश्वासको प्रस्ताव आउनु पार्टी स्पिरिटअनुसार नभएको भन्दै त्यसलाई रोक्न अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

प्रचण्डले सोमबार नै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए। भेटमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाललाई पनि अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *