सामाजिक अभियान र सरकार भनेको एक अर्काका परिपूरक हुनुपर्छ : केपी खनाल सामाजिक अभियन्ता
उनको उमेर २१ बर्ष मात्र भयो। सँगैका साथी युवा वयमा छन्। हाँसखेल, रामरमाइलोमा बिताइरहेका छन्। तर अछाम जिल्लाको रामारोशन गाउँपालिकामा जन्मिएका केपी खनालको दिनचर्या भने फरक छ।
खनालले सामाजिक अभियन्ताको परिचय बनाइसकेका छन्। देशको कान्छो अभियन्ताका रूपमा पनि उनको चिनारी बनिसकेको छ। सानो उमेरमा समाज परिवर्तन गर्न जुटेका केपीले सफाइ अभियान अन्तर्गत समाज परिवर्तनको रेखा कोर्न खोजेका छन्।
‘क्लिन काठमाडौं’ नामको सफाइ अभियानले केपी खनाललाई काठमाडौं उपत्यकाको भीडभाडमा मात्र होइन देश विदेशमासमेत चिनायो। उनको कामको प्रशंशा भयो। उनै खनाल केही समय अघि गान्धी जयन्तीको अवसरमा भारतमा सम्मानित पनि भएका छन्। खनालसँग डिसी नेपालका लागि कमल साउदले गरेको कुराकानी :
गान्धी जयन्तीमा सम्मानित हुनुभएको छ, यसले तपाईँको अभियानमा के कस्तो फरक पर्छ?
सामाजिक अभियानताको सम्पत्ती भनेको नै कसै न कसैबाट सम्मान प्राप्त गर्नु नै हो। हामीले पाउने र कमाउने सम्पत्ती पनि यही हो। गान्धी जयन्तीको अवसरमा नेपालमा विभिन्न संघ संस्थाहरुले सम्मान गर्नुहुन्थ्यो।
अहिले गान्धी जयन्तीको अवसरमा नै भारतबाट पनि विभिन्न फाउन्डेसनहरुले काम गरिरहँदा र हामीलाई पनि सम्मान गर्दा एक किसिमको थप उर्जा मिलेको छ। र जिम्मेवारी पनि बढाएको छ।
सम्मान गर्नका लागि दिल्लीबाट निम्तो आएपछि कस्तो अनुभुति भएको थियो?
म एकचोटी त अचम्म परे नि। सामाजिक अभियान र सरकार भनेको एक अर्काका परिपूरक हुनुपर्छ। किनभने सामाजिक अभियन्ताहरु जति छन् देशभरी उनीहरुले नै सरकारलाई समर्थन गर्ने हो। नेपालमा अहिले फरक भएको छ।
सामाजिक अभियानता भनेको सरकारको विरोध गर्ने वा माइतीघरमा जाने अथवा देशका मुख्य मुख्य शहरका चोक–चोकमा सरकार विरुद्ध आन्दोलन गर्ने। यस्तो प्रवृत्तीचाहिँ अहिले बृद्धि भएको छ। तर, मैले बुझ्ने सामाजिक अभियान भनेको चाहिँ समाजलाई माथि ल्याउन खोज्ने र समाजमा नयाँ अभियान ल्याउने हो। जसले प्रत्यक्ष रुपमा सरकारलाई नै टेवा पुग्छ।
नेपालमा यो खालको गतिविधि नभएको सरकार आफै अस्तव्यस्त भएकोे र सरकारले जसरी सामाजिक अभियन्ताहरुलाई उर्जा दिनुपथ्र्यो त्यो छैन। एक वर्ष अगाडि म भारतको मुम्बईमा त्यहाँका अहिलेको सरकारका वातावरण मन्त्रीसँग मिलेर ‘बीच’ सरसफाई अभियान गरेको थिएँ।
जसकोभारतीय मिडियाहरुले समाचार सम्प्रेषण गरेका थिए। त्यसपछि मुम्बई, दिल्ली, चेन्नईका सामाजिक अभियानताहरुसँग मेरो सम्पर्क हुँदै गयो। र पछिल्लो समय भारत र नेपालकाबीचमा रहेर सामाजिक काम गरेको थाहा पाइसकेपछि भारतका तर्फबाट विभिन्न फाउण्डेसनबाट सम्मान दिने क्रममा गान्धी जयन्तीको अवसर पारेर सम्मानीत भएको हुँ।
पुरस्कार ग्रहण गरिरहँदा मनमा के खेलिरहेको थियो?
मनमा स्वभाविक रुपमा एक किसिमको हर्ष महसुस भयो। समाजिक सञ्जाल फेसबुकमा यति धेरैले बधाई दिनुभयो। त्यो मलाइ के लाग्यो भने अब यो सम्पत्ति मैले कसरी बचाउने होला। एक किसिमको उत्सुकता भनौन उमेर अझै चंचले नै छ।
काममा जति परिपक्व भएपनि उमेरले अझै त्यती परिपक्व भइसकेको छैन। एक किसिमको सोच्नै नसकिने भनौं न अब के गर्ने कसो गर्ने भन्ने खालको मनोभाव मनबाट उत्पन्न भयो। तर, बिस्तारै मलाइ जिम्मेवारीको पनि महसुस भयो।
अलिकति हामी पछाडि फर्केर हेरौं, सानै उमेरमा सामाजिक अभियानमा लाग्ने सोच कसरी आयो?
सुदुरपश्चिमका धेरै मान्छेहरुको सोच हुन्छ कि सुदुरलाई कसरी सुन्दर बनाउने भन्ने। र सुदूरपश्चिम यस्तो ठाउँ हो, जहाँ यतिधेरै मान्छेहरुका प्रतिभा छ।तर सुदूरले केन्द्रसम्म देख्न सकेको छैन। र,म सानैमा सुदुरपश्चिमको त्यो गरिबी, अभाव, नाजुकतासँग लडेर आएको हुँ।
म अछामको हुँ, म बैतडीको हुँ, म बाजुराको हुँ, म बझाङको हुँ, म दार्चुलाको हुँ भनेर भन्दा धनगढीमा वा काठमाडौंमा जुन अर्को नजरले हेरिन्छ त्यो नजरलाई बदल्नुपर्छ। हामीपनि एक किसिमले सम्पन्न छौं। भारतमा चौकीदारी गर्न जाने मात्रै सुदुरेली होइनौं। हामी पनि केही गर्न सक्छौं, भनेर ६ कक्षा देखिनै मैले रेडियोमा काम गर्न थाले र समाजसँगको त्यो लगावले नै मलाई यहाँ पुर्यायो जस्तो लाग्छ।
सामाजिक अभियन्ता भएर गरेको पहिलो काम के हो? कति वर्षको उमेरमा गर्नुभएको थियो?
सामाजिक अभियन्ता भन्ने त थाहा थिएन तर पहिलो कामको रुपम चाहिँ मैले एसएलसी दिएर गाउँघरमा सरसफाई अभियान सुरुवात गरेको हो। त्यो सरसफाई अभियान एक किसिमको जनचेतना मुलक कार्यक्रम थियो। र, पछि त्यो भन्दा अलि ठूलो भनेको जब म ११ कक्षामा पढ्थे त्यो बेला कैलालीबाट ९ दिनको बसाइमा गरेँ। २ दिन त बाजुरा पुग्न नै लाग्थ्यो। बाजुराको आधा भेग सम्म मात्रै गाडी जान्थ्यो।
म चाहिँ हुम्लाको आदाञ्चुली गाउँपालिकाबाट बाजुरामा नुन ल्याउने क्रममा बाटोमा मृत्यु भएको समाचार कुनै पत्रिकाको फ्रन्ट पेजमा पाएँ ‘चामल भन्दा सस्तो जीवन’ शीर्षकमा। त्यसले मेरो मनमा छोयो। मैले सोचेँ त्यो हुम्ला जहाँ चाहिँ हुम्लाको आवाज पुगेन भनेर माइतीघर मण्डलामा आन्दोलन गर्छन्। त्यो हुम्ला त्यो कालिकोट जहाँ सिटामोल पुगेन भनेर सडकमा आन्दोलन गर्छौं।
त्यो हुम्लामा के रहेछ भनेर कौतुहलताले बुझ्नका लागि आफै जान्छु भनेर फेसबुकबाट ‘भोकैछ हुम्ला’ भन्ने अभियान सञ्चालन गरेर करिब ३ लाख रुपैयाँ भन्दा बढी रकम संकलन गरेर खाद्यान लगेर जाने निधो गरे। कैलालीबाट बाजुरा, बाजुराबाट खप्तड हुँदै २ दिन हिँडेर हुम्ला पुगेको छुँ। त्यसलाई पहिलो भनौ या त्यसलाई चाहिँ प्रेरणा दिने काम भनौं।
पहिलो काम सम्पन्न भएपछि कस्तो प्रतिकृया पाउनुभएको थियो?
त्यो काम सकिएपछि मलाई एकखालको हौसला मिल्यो। मान्छेहरुले मलाइ ओहो हुम्लासम्म पुगेछ भनेर सकारात्मक प्रतिकृया दिन थाले। जब तपाईँले सकारात्मक प्रतिकृयाहरु पाउनुहुन्छ नि त्यसको उर्जा बेग्लै हुन्छ। मान्छेहरुको त्यही माया र विश्वासले अहिलेसम्म सेवा गर्ने मौका पाइरहेको छुँ।
सानै उमेरदेखि सामाजिक अभियानमा लागिरहनुभएको छ। थुप्रै युवाले तपाईँलाई साथ पनि दिइरहेका छन्, युवाहरुमा कस्तो परिवर्तन देख्नु भएको छ?
स्वभाविक रुपमा युवा भनेको वायु हो। युवालाई उल्टाएर हेर्दा वायु हुन्छ। र वायुको तिब्रतालाई न रोक्न सकिन्छ न देख्न सकिन्छ ।नेपालको परिप्रेक्षमा हामीले सामाजिक काम गरिसकेपछि भनौं, हाम्रो उमेरका युवाहरुमा के प्रेरणा मिल्छ भने हामी कहीँ न कतै मनोरञ्जनात्मक दुनियाँमा रंगिनथ्यौं।
१६/१७ वर्षको रमाउने उमेरमा अब समाजको लागि पनि केही काम गर्नुपर्छ। समाजका लागि काम गरे हामीलाई समुदायले माया गर्छ भनेर अहिले सामाजिक गतिविधि बढेका छन्। २/३ वर्षयता हेर्ने हो भने नेपालमा थुप्रै सामाजिक अभियन्ताहरु जन्मेका छन्। जसमा अधिकांश युवा छन्।
‘क्लिन काष्ठमाण्डप’, ‘हेल्प फर निडी अभियान’ लगायत थुप्रै परोपकारका कामसमेत गरिसक्नुभयो, यो दौरान कस्ता कस्ता मानिसहरुसँग भेट भयो?
११/१२ को पढाइ सकेर जब म १७ वर्षको उमेरमा काठमाडौं छिरे ‘क्लिन काष्ठमाण्डप’को सुरुवात त्यहीँबाट भयो। सुदुरपश्चिमको कैलालीबाट काठमाडौ छिर्दै गर्दा मलाइ लाग्यो कि काठमाडौं शून्य सहर हो। यहाँको सुन्दरता, यहाँका मानिसको हाउभाउ, यहाँको पशुपतिनाथ, बौद्धस्तुपा यी यावत कुराहरु हामीले किताबमा पढ्ने गथ्र्यौं।
तर, त्यो सुन्दरता किताबको पानामा र फेसबुकको भित्तामा मात्रै रंगिन रहेछ। त्यही भएर सफाइ भन्दा पनि हामीले फोहोरै नगर्ने। हामीलाई काठमाडौंले बस्न दिएको छ। तर, हामीले कहि न कतै काठमाडौंलाई बस्न दिइरहेका छैनौं।
हामीले खाने हरेक कुराहरु नखाँदासम्म त्यो हाम्रो भयो खाइसकेपछि त्यो दुनियाँको भयो हामीले फ्याँकिदिने गर्छौं। फ्याँकेको ४/५ दिनपछि त्यो थुप्रो हुन्छ। त्यहीँ हामीले खिचेर काठमाडौं फोहोर भयो भन्दै विरोध गर्छौँ। १६ वर्षको उमेरसम्म मैले पनि त्यहिँ गर्थेँ। अब म
बदलिनुपर्छअनि मात्रै देश बदलिन्छ भनेर १७ वर्षको उमेरमा करिब १७ सयलाई काठमाडौंमा उतारेर सफाइको सुरुवात गरियो। र त्यही अभियानबाट संकलन भएको ५० लाख रुपैयाँबाट बाजुरामा एउटा अनाथ आश्रम पनि निर्माण गर्यौं। यो दौरान सहयोग गर्ने हातहरु निकै भेटेँ। र जतिलाई भेटे सबैले मलाई सधैँ अगाडि बढ्न हौसला नै दिइरहनु भयो।
सामाजिक अभियन्ताहरु आर्थिक समस्यामा परेको धेरै सुन्नमा आउँछन्, तपाइँपनि दिल्लीमा सम्मानित हुनका लागि जानेबेलामा नगरपालिकाको सहयोग लिनुभएको भन्ने कुराहरु आइरहेका थिए, यस्तो अवस्थामा जनप्रतिनिधिहरुको कस्तो प्रतिक्रिया पाउनुभयो?
एउटा घरको छोरा भइसकेपछि उसलाइ पनि धेरै कुराको अभाव हुन्छ। तर, एउटा घरको छोरा र समाजको छोरामा फरक हुँदो रहेछ। अहिले केपी खनालले राम्रो लुगा लगाउँदा, हिँड्दा, डुल्दा कहाँबाट ल्यायो भन्ने गरिन्छ। मलाइ अचम्म लाग्छ। म एकजना व्यक्तिको छोरा भइदिएको भए कहाँबाट ल्यायो भन्ने प्रश्न आउँथ्यो होला। अहिले त धेरै आमाबुवाहरु मैले पाको छु।
जहाँ जाँदा पनि मैले अभिभावक पाउँछु। र यसमा पनि धनगढी उप–महानगरपालिकाले दिल्ली जाने खबर पाइसकेपछि अहिले ‘कोविड–१९’ को संक्रमण हुने खतरा छ। सार्वजनिक बसमा जानुभन्दा निजी गाडि लिएर जानु राम्रो हुन्छ भनेर धनगढी उप–महानगरपालिकाका मेयर निर्पबहादुर ओडले व्यक्तिगत रुपमा मलाई सहयोग गर्नुभएको थियो।
अब तपाईँका आगामी योजनाहरु केके छन्?
सँधै म यो विषयमा भन्ने गर्छु। आगामी योजना समाजले निर्धारण गर्छ। र मलाइ मन पराउने व्यक्तिले निर्धारण गर्छन्।
पछिल्लो समय सामाजिक अभियन्ताहरु प्रचारमुखी भएका हुन्?
म पनि कहिलेकाही यो विषयमा सोच्ने गर्छु। कामको प्रचार गर्नु स्वभाविक रुपमा ठिक हो। तर, अहिले व्यक्तिले आफ्नो प्रचार गर्नतर्फ लागेका छन्। प्रचार कामको गर्नुपर्छ काम सँधै रहन्छ व्यक्ति होइन। म आफूलाई सामाजिक अभियन्ता भन्दिन। किनभने अहिले सडकमा नारा लगाउने, चौबिसै घण्टा विरोध गर्नेलाई मात्रै सामाजिक अभियन्ताको दर्जा दिएको देख्ने गरेको छुँ।
म आफूलाई त्यो भन्दा फरक रुपमा दाँज्ने गर्छु। किनभने मैले अहिलेसमम एकपटक पनि सडकमा गएर बिरोध पनि गरेको छैन र टायर पनि बालेको छैन। म के चाहन्छु भने अबको सामाजिक अभियन्ताले विरोध यसकारणले गर्नुपर्छ कि बिरोधमा विकल्प पनि होस।
Facebook Comment