लिलानाथ श्रेष्ठ : लिला छाप बिँडीदेखि महिला मन्त्रीसम्म

डिसी नेपाल
२९ असोज २०७७ ११:५४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद हेरफेर गरे। प्रधानमन्त्री ओलीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठलाई दिएका छन्।

श्रेष्ठ गत संसदीय निर्वाचनमा सिराहा निर्वाचन क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद हुन्। उनले कांग्रेस कोषाध्यक्षसमेत रहेकी सितादेवी यादवलाई पराजित गरेका थिए।

त्यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा श्रेष्ठ तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए। दुई ठाउँबाट निर्वाचनमा उठेका प्रचण्ड काठमाडौं दशबाट कांग्रेस उम्मेद्वारसँग पराजित भएका थिए।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय भएका श्रेष्ठ जिल्लामा निकै लोकप्रिय मानिन्छन्। पहाडे समुदाय भएर पनि मधेसमा गएर चुनाव जित्नु त्यसैको उदाहारण भएको बताउँछिन् सिराहा जिल्ला सचिवालय सदस्य कल्याणी ढुंगाना। ‘सिराहाको तीन नम्बर क्षेत्रमा मधेसी समुदायको बाहुल्यता छ, त्यो क्षेत्रमा पनि उहाँले चुनाव जित्नु भएको छ,’ उनले भनिन्, ‘उहाँ जिल्लामा निकै लोकप्रिय हुनुहुन्छ।’

श्रेष्ठ राजनीतिसँगै समाजसेवामा पनि सक्रिय छन्। उनको सृजना क्लब नाम गरेको एनजीओ छ। उक्त एनजिओमार्फत श्रेष्ठले जिल्लामा धेरैलाइै रोजगारी दिएका छन्। उक्त एनजीओ शाखा अन्य चार जिल्लामा पनि विस्तार भइसकेको छ। त्यसमा हजारौंले रोजगारी पाएका छन्।

श्रेष्ठको लिला छाप बिँडी उद्योग पनि छ। एकताका लिला छाप बिँडी सिराहामा निकै लोकप्रिय मानिथ्यो। बिँडी उद्योगमा अहिले पनि सयौंले रोजगारी पाएका छन्। श्रेष्ठले सिराहामा बैंक पनि संचालन गरेका छन्।

विशेष गरी सृजना क्लब नाम गरेको एनजिओले धेरैलाई रोजगारी दिएको अखिल नेपाल महिला संघकी स्थायी कमिटी सदस्यसमेत रहेकी ढुंगाना बताउँछिन्। एलएलबीसम्म अध्ययन गरेका श्रेष्ठ सुरुदेखि नै केपी ओली खेमामा आवद्ध थिए।

२०७० सालको निर्वाचनमा प्रचण्डसँग पराजित भएका श्रेष्ठलाई तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले श्रीलंकाको राजदूत बनाउने आश्वासन दिएका थिए।

त्यो बेला श्रेष्ठले मतगणनाका क्रममा धाँधली गरेर आफूलाई षड्यन्त्रपूर्ण तरिकाले पराजित गरेको आरोप लगाएका थिए। तर पार्टीले त्यसमा सहयोग नगरेपछि उनी अदालत जाने तयारीमा थिए। तर पछि श्रीलंकको राजदूत बनाउने आश्वास दिएर उनलाई मनाइएको थियो। तर उनलाई राजदूत नियुक्त गरिएन।

तर नेकपा अध्यक्षसमेत रहेका ओलीले बुधबार उनलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका छन्। लैंगिकताका विषयमा निर्वतमान पार्वत गुरुङले उठाएका विषयलाई टुंगोमा पुर्याउने चुनौती श्रेष्ठको काँधमा आएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *