रुसको स्पुतनिक–भीपछि अर्को कोरोनाभाइरस भ्याक्सिनले पूर्ण स्वीकृति पायो
काठमाडौं। रुसले कोरोनाभाइरसको दोस्रो भ्याक्सिनलाई पनि पूर्ण स्वीकृति दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार एक सरकारी बैठकमा यसको घोषणा गरेको मस्को टाइम्सले जनाएको छ । राष्ट्रपति पुटिनले अब रुसले विकास गरेर स्वीकृति दिएका यी दुवै भ्याक्सिनको उत्पादन बढाउनु आवश्यक रहेको बताएका छन् । उनले विदेशी सहयोगीहरुसँग सहयोग जारी राखेको बताउँदै विदेशमा आफ्नो भ्याक्सिनलाई बढावा दिने बताए ।
रुसले यसअघि स्पुतनिक भी नामको भ्याक्सिनलाई स्वीकृति दिइसकेको छ । अहिले स्वीकृति दिइएको भ्याक्सिनको नाम इपिभ्याककोरोना हो । इपिभ्याककोरोनाको विकास साइबेरियामा रहेको विश्वस्तरीय भाइरोलोजी इन्स्टिच्युट भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीमा गरिएको हो । भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले कोरोनाभाइरसका १३ सम्भावित भ्याक्सिनमा काम गरेको थियो जसमध्ये इपिभ्याककोरोना सबैभन्दा पहिले सफल भएको हो ।
प्रयोगशालामा पहिले जनावरमायो भ्याक्सिनको परीक्षण गरिएको थियो । रुसले आफ्नो पहिलो भ्याक्सिन स्पुतनिक भीमा देखिएका साइड इफेक्ट दोस्रो भ्याक्सिन इपिभ्याककोरोनामा नभएको दावी गरेको थियो । यो भ्याक्सिन निकै गोप्य तरिकाले बनाइएको हो । रुसले विश्वकै पहिलो कोरोना भ्याक्सिनको दर्ता ११ अगष्टमा गरेको थियो । रुसले अहिले स्वीकृति दिइएको भ्याक्सिन इपिभ्याककोरोनालाई नोभेम्बरमा लञ्च गर्न सक्नेछ ।
Facebook Comment