निर्मला पन्त प्रकरणः दुई वर्षपछि डीएसपी जिसीको निलम्बन फुकुवा

डिसी नेपाल
२९ असोज २०७७ १७:४६

काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिँदा निलम्बनमा परेका सीआईबीका डीएसपी अंगुर जिसीको निलम्बन फुकुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डीएसपी जिसीको निलम्बन फुकुवाको पत्र प्रहरी प्रधान कार्यालय पठाएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले पुष्टि गरे। उनले डिसी नेपालसँग भने, ‘निलम्बन फुकुवाको पत्र आएको छ। अब उहाँ (जिसी) हाजिर हुन आउनु हुन्छ।’

केही दिन अघि मन्त्रिपरिषद्ले प्रहरी नियामवली संशोधन गर्दै निलम्बन फुकुवाको बाटो खोलेपछि डीएसपी जिसीको निलम्बन फुकुवा भएको हो। डीएसपी जिसी, अर्का डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो। प्रहरी सायक निरीक्षक धामी भने जिल्लाबाटै निलम्बन फुकुवा हुने प्रवक्ता कडायतले बताए। सेठी र खड्का भने सेवा निवृत्त भइसकेका छन्। उनीहरुले पेन्सन पट्टा बनाइसकेका छन्।

बालिका निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले प्रमाण नष्ट गरेको भन्दै उनीहरु निलम्बनमा परेका थिए। तर, कञ्चनपुर जिल्ला अदालतले निलम्बनमा परेका प्रहरीहरु निर्दोष रहेको फैसला गरेको थियो। त्यसपछि लामो सयमसम्म पनि नियामवली बाधक भएपछि निलम्बन फुकुवा हुन सकेको थिएन। असोज ८ गतेको मन्त्रिपरिषदले नियामवली संशोधन गरेपछि निलम्बन फुकुवाको बाटो खुलको हो।

पन्तका हत्यारा भने हालसम्म पत्ता लाग्न सकेका छैनन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *