के जनावरको मासु खाँदा माहामारी आउने हो ?
अहिले कोरोना माहामारीले आक्रान्त भइरहेको बेलामा मानव प्रजाती आफ्नो वचाउको लागि विभिन्न उपायहरुको खोजीमा लागिरहेका छन्। आफ्ना खानपिन, रहनसहन जस्ता व्यबहारजन्य क्रियाकलापको समिक्षा गरिरहेका छन्।
पशुजन्य आहारबिहारमा कटौती गरिरहेका छन्। चीनको सेन्जेन शहरमा त कुकुर तथा बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ। बीबीसीकाे एक रिपोर्ट अनुसार, चीनमा मात्रै बर्सेनी एक करोड कुकुर र ४० लाख बिरालोहरू मासुकै लागि मारिन्छन् र एसियाली अन्य देशहरूमा हरेक वर्ष तीन करोड कुकुर मारिन्छन्।
कुखुरा, सुंगुर, विरालो अथवा कुकुरबाट अर्को महामारी आउँछ भनेर वैज्ञानिकहरुको लेख्न थालेका छन्। हाल आतंक मच्चाइरहेको कोरोना भाइरसको उत्पत्तिको स्रोत अहिलेसम्म पनि यकिन गर्न नसकिए पनि जंगली जनावर जस्तै चमेरा वा शालकको मासु खाँदा जनावरबाट मानिसमा सरेको अनुमान गरिएको छ।
अहिलेको उपभोक्ताबादी विश्वमा दाना खुवाएर उत्पादन गरिएको मासु खानु भनेकाे अर्को महामारीको तयारी गर्नु बराबरै हुनसक्छ। किनकि विगतका धेरै महामारीहरु कुनै न कुनै रुपमा जनावरजन्य व्यबहारसँग सम्वन्धित देखिन्छ।
हालका वर्षहरुमा जनावरजन्य (जुनोटिक) रोग मानिसमा सर्ने क्रम झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका छन्। त्यसो भए के वास्तवमै मासु खाने मानिसले नै महामारी निम्त्याउने हो त? यो प्रश्नको सजिलो र सर्वमान्य उत्तर भने सजिलै दिन सकिँदैन।
जनावरबाट मानिसमा रोग आफै सर्दैन
जनावरबाट मानिसमा रोग आफै सर्ने होईन बरू यिनीहरुको मासु, बासस्थान र सरसंगतवाट सर्ने हो। अहिले सम्म देखिएका धेरै जसो भाइरसहरू कुनै न कुनै रुपमा वन्यजन्तुबाट मानव जातिमा प्रसारित भएको देखिन्छ, चाहे त्यो १९८१ मा आएको एचआईभी र त्यो भन्दा अघि र पछिका बोभाइन टिबी, रेबिज, इबोला, वेस्ट नाइल फिभर, फ्लु, सार्स, मर्स होस् कि अहिलेको कोभिड नै किन नहोस्।
यो क्रम गतशताब्दीमा त झनै उग्ररुपमा बढेको पाईन्छ, बितेको एक शताब्दीमा हामीले छवटा नयाँजातिका कोरोनाभाइरसको महामारी देखिसक्यौ।
शहरीकरण, कृषि र महामारीको अन्तरसम्बन्ध
वन्यजन्तुजन्य महामारीको फैलावटमा मुख्यकारक भने बढ्दो शहरी जनसंख्या नै हो। बढ्दो शहरी जनसंख्याको लागि हामीले कृषिलाई अत्यधिक सघन पारेका छौँ, पूर्वाधार विस्तार तथा स्रोतको दोहन गरिएको छ, फलतः वन्यजन्तुको वासस्थानमाथीको अतिक्रमित बढेको छ।
वन्यजन्तुको वासस्थान विनास र महामारीहरु वीचको अन्तरसम्बन्धमा धेरै नै अनुसन्धान भएका छन् र सबैको नतिजा उस्तै छ। हामीले वन्यजन्तुको दुरुपयोग जारी राख्यौँ र पर्यावरण प्रणाली ध्वस्त पारिरह्यौँ भने आगामी वर्षहरूमा जनावरबाट मानिसमा सर्ने रोग निरन्तर बढिरहने छ। त्यसैले भविष्यमा हुने महामारी रोक्ने हो भने हामीले प्राकृतिक वातावरण, बन्यजन्तु र तिनीहरुको वासस्थान संरक्षणमा निकै धेरै गम्भीर हुनुपर्छ।
जनावरको मासुसँग महामारीको सम्बन्ध के छ ?
मानिसले आहाराको खोजीमा झण्डै १० हजार बर्ष पहिले ढुङ्गेयुगबाटै मासु खाने थालेकोथियो। आजकल वनस्पतिजन्य खानेकुरा भन्दा मासुजन्य खाद्यप्रदार्थको माग दिनानुदिन बढिरहेको छ। विकशित तथा अल्पविकशित सबै देशहरुमा मासुलाई आर्थिक सम्पन्नतासँग जोडेर हेर्न थालिएको छ।
त्यसैले विगत ५० बर्ष भित्रमा मासुको उत्पादन चारगुणाले बढेर झण्डै ३३० लाख टन प्रतिवर्ष पुगेको विश्व खाध्य संगठनको तथ्याङ्कले देखाउछ। हालका बर्षहरुमा भेडा, च्याङ्ग्रा, बाख्रा, गाई, गोरू, भैसी, राँगा, सुंगुर, कुखुरा जस्ता मासुका प्रमुख स्रोतहरुको उत्पादन परिमाण पनि अधिक रुपमा बढेको छ।
यसबाहेक अन्य घरपालुवा तथा जंगली जनावर जस्तै खरायो, परेवा, घोडा, गघा, कुकुर, बिरालु, अस्ट्रिच, बट्टै, टर्की, बनेल, मृग, शालक, गोहोरो, सर्प, भ्यागुता, बिच्छी, मुसा, चमेरा, ऊट, ह्वेल, डल्फिन, किराफट्याङ्ग्रा जस्ता १२० भन्दा बढि किसिमका जनावारको विनास गर्न थालिएको छ, मासुको लागि।
विश्व खाद्य संगठनको अनुसार हरेक युरोप-अमेरीकनहरुले प्रतिबर्ष १०० केजि मासु खान्छन् भने, एशियाली-अफ्रिकन मुलुकका मानिसहरुले त्यसको १० गुणा कम (झण्डै ५-९ केजी प्रतिबर्ष)। यसको अर्थ विकसित मुलुकका मानिसहरु २ जनाले एकबर्षमा १०० वटा कुखुरा वा सिङ्गै गोरु खानसक्छन्।
मासुको माग बढ्ने क्रम पनि अल्पविकसित मुलुकमा नगन्य र विकसित मुलुकमा धेरै गुणाले धेरै छ। केन्या, ईथियोपिया, रूवाण्डा, नाइजेरिया जस्ता भोकमरीले सताएको देशमा मासुको माग लगभग उस्तै छ जव कि चिन, ब्राजिल जस्ता द्रुतगतिमा विकास गरिरहेका देशहरुमा सन् १९६० (५ केजी) भन्दा अहिले १० गुणले बढेर ६० केजी प्रतिबर्ष पुगेको छ।
सन्तुलित खानेकुराको दोस्रो स्रोत नभएको अवस्थामा कतिपय मानिसहरुको लागि मासु खानु बाध्यता हुनसक्छ, खासगरी अफ्रिकन मुलुकका आदिवासीहरुमा। नेपालका पहाडी, दुर्गम वस्तिहरुमा र कतिपय शारीरिक कमजोरीको अवस्थामा वा सुत्केरीमा पनि शरीर स्वस्थ बनाउने प्रमुख आहार नै मासु मानिएकोछ ।
औद्याेगिक मासु उत्पादनले पार्नसक्ने असरहरू
मासु उत्पादनले मुख्यतः पर्यावरणीय, मानव स्वस्थ्य र खाध्यसंकट गरि तीन पक्षमा असर पार्छ। मासु उत्पादनको पहिले दवाब वनजंगल र जैविक विविधतामै पर्छ। सन् १९७० पछि अमेजनको जंगल मासिनुमा तीन चौथाई दोष पशुपालनलाई दिईएको थियो।
पशुपालनले वनविनास, खानेपानीको अभाव, मिथेन, नाइट्रोजन र सल्फर ग्यास जस्ता हरितगृह ग्यास (विश्व तताउने ग्यास) अधिक उत्सर्जन गर्छ। एक अमेरीकी अनुसन्धान अनुसार १ केजी गोरूको मासु उत्पादनगर्दा निस्कने प्रदुषक ग्यास र नेपाल पुर्व पश्चिम दुईपटक हवाईजहाज उडाउदा निस्कने बराबरै हुन्छ।
घाँस खाने धेरैजसो जनावरहरुले पाचनको क्रममा पेटमा भएको सुष्मजीवको सहयोग लिएर मिथेन, सल्फर जस्ता ग्यासहरू निकाल्छ। मिथेन ग्यास विश्व जलवायु परिवर्तनको मुख्य कारक मानिन्छ जसले कार्बनडाईअक्साइड भन्दा ३० गुना बढि विश्वलाई तताउछ।
संसार प्रसिध्द जर्नलहरु नेचर (२०१८), लान्सेट (२०१९) र विश्ववातावरणमा काम गर्ने अग्रणी आइपिसिसि, राष्ट्रसंधिय वातावरणीय कार्यक्रम (युनेप) जस्ता संस्थाहरुले हालैका केहि रीपोर्टहरुमा ‘विश्वको मासु खपत आधा गरियो भने मात्र विश्व जलवायु परिवर्तनको असरहरुलाई कमजोर पार्न सकिन्छ’ भनेर निचोड निकालेका सोधहरु प्रकाशन गरिरहेका छन्। कतिपय लेखहरुमा त छैठौं विश्वमहाप्रलय शुरु भइसकेको र यसको प्रमुख कारण पनि बढ्दो मासुको खपतलाई मान्ने गरेका छन्।
मासुले मानव स्वास्थ्यमा पार्ने असरलाईपनि नजरअन्दाज गर्न मिल्दैन। कतिपय अवस्थामा मासु शरीरलाई आवश्यक होला तर चाहिने भन्दा बढि मासु खाने मानिस रोगी बन्छ।
विशषतः रातो मासु (खसी, बोका, गोरू) खाने मानिसहरुमा मुटु, मृगौला, कलेजो र कतिपय क्यान्सरहरु देखिने संभावना बढि हुने तथ्याङ्क विश्व स्वास्थ्य संगठनको छ। उच्च तौल, मधुमेह, उच्च रक्तचाप र शरीरको प्रतिरोधी क्षमतामा कमि आउने प्रमुख कारक अधिक मासु सेवन मानिएको छ। मासुको औद्योगिक उत्पादनमा प्रयोग हुने एन्टिबायोटिक, हर्मोन, भिटामिनयुक्त दानाहरुमा पलिएका जनावरहरुको मासु खाँदा हामी पनि स्वास्थ्यमा खतरनाक असर पार्ने अनावश्यक औषधि खानपुग्छौं।
मासु उत्पादनले पार्ने तेस्रो असर भनेको खाध्यसंकट पनि हो। अल्पविकसित मुलुकहरुमा बढ्दो भोकमरीलाई समयमै सम्बोधन गर्न सक्नु चुनौतिपुर्ण भइरहेको वर्तमान अवस्थामा मासु उत्पादनमा नै विश्वको कुल कृषिउत्पादन मध्ये ४० प्रतिशत खाध्यान्न खर्च हुनु पक्कै राम्रो होइन।
विश्व उत्पादनको दुईतिहाई भन्दा बढि भटमास (जो वनस्पतिजन्य उत्तम प्रोटिनको स्रोत मानिन्छ), पशुपालनको दाना बनाउन प्रयोग हुन्छ। खुलारुपमा पालिने जनावरको लागि ठुलो कृषियोग्य चरणक्षेत्र चाहिन्छ भने सानो क्षेत्रमा पाल्दा ठुलो मात्रामा कृषिउपजको विनास हुन्छ।
अमेरिकामा मात्र हेर्ने हो भने मानिसकोलागि भन्दा दुईगुना बढि क्षेत्रमा पशुपालनको लागि खेति गरिन्छ। नेपालमा पनि अवस्था, यो भन्दा फरक छैन। हाम्रा गाँउघरमा मकै, गँहु, कोदो, जस्ता खाद्यबालीको ठुलो अंश गाईवस्तुको आहाराको रुपमा प्रयोग हुनेगर्छ।
सन् २०१८ गरिएको अध्ययन आनुसार १ किलोग्राम (केजी) गोरुको मासु उत्पादनको लागि २५ किलोग्राम खाध्यान्न आवश्यकता पर्छ, यस्तै खसीको लागि १५ केजी, सुंगुरकोलागि ६.५ केजी र कुखुराको लागि ३.५ केजी खाध्यान्न आवश्यक हुन्छ।
त्यसो भए मासु खाने कि नखाने त?
मासु खानु हुदैन भनेर कुनै पनि वैज्ञानिक अनुसन्धानहरुले निचोड निकालेको छैन। स्वस्थ मासुले मानव शरिरलाई चाहिने पौष्टिक प्रदार्थ दिन्छ तर मासु भने स्वस्थ हुनुपर्छ। मासु स्वस्थ हुनको लागि जनावर स्वस्थ हुनुपर्छ। सन्तुलित, वैज्ञानिक र प्राकृतिक दानाले मात्र जनावरलाई स्वस्थ राख्छ।
नेपालमा पहिले पहिले जंगली चरणक्षेत्रमा चरेका खसीबोकाको मासु पाइन्थ्यो तर आजकल खोर वा गोठको चौघेरामा विकसित दाना दिएर पाल्ने क्रम बढ्दो छ। अहिलेको उपभोक्ताबादी विश्वमा दाना खुवाएर उत्पादन गरिएको मासु खानु भनेकाे अर्को महामारीको तयारी गर्नु बराबरै हुनसक्छ। किनकि विगतका धेरै महामारीहरु कुनै न कुनै रुपमा जनावरजन्य व्यबहारसँग सम्वन्धित देखिन्छ।
मासु खाने नै हो भने पनि पशुजन्य मासु तथा अण्डा राम्रोसँग पाकेको मात्रै खानु उत्तम हुन्छ। जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहन सकिएमा कोरोना जस्ता भाइरसबाट जोगिन सकिने विभिन्न अध्ययनहरुले देखाएको छ।
(लेखक त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक हुन्)
Facebook Comment