आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

डिसी नेपाल
४ कार्तिक २०७७ ९:२१

कास्की । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरिएको जनाएको छ।

गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पाल तथा स्याउलाले बनाएको छाप्रोमा तामाङको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । घटनामा इन्द्रबहादुरको संलग्नता देखिएपछि खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा फेला पारेर पक्राउ गरी पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

घटनापछि मृतकको छोराले तामाङविरुद्ध किटानी जाहेरी दिएका थिए। गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा शुरु भएको र सोही क्रममा इन्द्रबहादुरले टङ्कबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको उनले बताए। प्रतिवादी तामाङले प्रारम्भिक सोधपुछ गर्दा घटना घटाएको स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको प्रनाउ हमालले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *