फेब्रुअरीसम्म भारतमा मात्रै ६५ करोडभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित हुने
मुम्बइ। भारतको १ अर्ब ३० करोड जनसंख्याको कम्तीमा आधा हिस्सा अर्थात ६५ करोडभन्दा बढी मानिसहरु आगामी फेब्रुअरीसम्म कोरोनाभाइरसबाट संक्रमित हुने अनुमान गरिएको छ । भारत सरकारले यो महामारीको पूर्वानुमानको लागि गठन गरेको समितिका एक अधिकारीले सोमबार यस्तो बताएको रोयटर्सले जनाएको छ । सोमबारसम्म भारतमा आधिकारिक रुपमा ७५ लाख ५० हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् र भारत विश्वभरी सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।
पछिल्लो समय भारतमा संक्रमणका केसहरु घटिरहेका छन् । मध्य सेप्टेम्बरमा पिक समयमा २४ घण्टामा झण्डै १ लाखसम्म संक्रमितको संख्या पुगेपछि अहिले घटेर दैनिक औसतमा ६१ हजार ३९० संक्रमित भेटिएका छन् । ‘हाम्रो अंकगणितीय मोडेलले अहिलेसम्म देशको ३० प्रतिशत जनसंख्या संक्रमित भएको अनुमान गरेको छ र यो संख्या फेब्रुअरीसम्म ५० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ’ इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरका प्राध्यापक तथा सरकारी समितिका सदस्य मनिन्द्र अग्रवालले रोयटर्ससँग भने ।
समितिले अहिलेको संक्रमण फैलिने दर संघीय सरकारको सेरोलोजिकल सर्वेमा देखिएको भन्दा बढी भएको बताएको छ । सेप्टेम्बरमा सरकारको सेरोलोजिकल सर्वेले १४ प्रतिशत मात्रै संक्रमित भएको देखाएको थियो । अग्रवालले सेरोजोजिकल सर्वेले पूर्ण सही नमूना संकलन गर्न नसकेको हुन सक्ने बताएका छन् । यद्यपि भाइरोलोजिस्ट, वैज्ञानिक र अन्य विशेषज्ञहरु सम्मिलित समितिको रिपोर्ट गणितीय मोडेलमा आधारित छ ।
Facebook Comment