यस वर्ष सुरक्षा संगठनका प्रमुखले मातहतका सुरक्षाकर्मीलाई टीका नलगाउने

डिसी नेपाल
५ कार्तिक २०७७ ११:५६

काठमाडौं। कोरोना संक्रमणका कारण तीन वटै सुरक्षा निकायमा प्रमुखले यस वर्ष सुरक्षाकर्मीलाई दशैको टीका नलगाउने भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुले मातहतका सुरक्षाकर्मीहरुलाई दशैको टीका नलगाउने भएका हुन्।

कोरोना संक्रमणको कारण प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजिपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका आईजिपी शैलेन्द्र खनालले टीका कार्यक्रम स्थगित गरेको भन्दै मातहत निकायलाई सर्कुलर गरेका छन्। दसैंमा तीनवटै सुरक्षा प्रमुखले सरकारी निवासमा मातहतका सुरक्षाकर्मीलाई टीका लगाउने परम्परा रहेको छ।

‘संगठन प्रमुखले मातहतलाई टीका लगाउने कार्यक्रम यस वर्ष छैन’, सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) राजु अर्यालले भने। उनका अनुसार संगठन प्रमुखले बाहिर भन्दा भित्रै परिवारसँग दशै मनाउन सबैलाई अनुरोध गरेका छन्। व्यारेकमा पनि सामुहिक टीका नगर्न निर्देशन गरिएको छ।

प्रधानसेनापतिले अघिल्लो दशैंमा ललितपुरस्थित सरकारी निवासमा टीका थाप्न आउनेलाई नलगाउने जनाएका छन्। स्वास्थ्य सुरक्षा प्रोटोकलका कारण टीका लगाउने कार्यक्रम नराखिएको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख एवं प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले जानकारी दिए। उनका अनुसार टिका लगाउने कुरा व्यक्तिगत भएकाले यसवर्ष टीका लगाउने कार्यक्रम तय भएको छैन।

नेपाल प्रहरीका महानिरीक्षकले शैलेश थापाले यसवर्ष मातहत निकायमा कार्यरत अधिकृत जवानलाई टीका लगाउने कार्यक्रम नबनाएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए। उनका अनुसार कोरोना संक्रमण बढ्दै गएकाले सकेसम्म दुरी कायम गरेर दशै मनाउने गरी सर्कुलर गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *