‘आत्मअनुसाशनको पालना गर्दै सचेत रहे काेराेना जित्न सकिन्छ’

डिसी नेपाल
६ कार्तिक २०७७ ९:०८

राष्ट्रिय बाणिज्य बैंक मुख्य शाखा कार्यालय विशालबजारमा कार्यरत रहँदै नेपालमा कोरोना भित्रियो। चैत्र ११ गते लकडाउन भएपछि बैंकले पनि आफ्नो सेवा रोक्यो। म घर नेपालगञ्ज फर्किएँ।

लामो समयको लकडाउनका कारण बैंकले प्रदान गर्ने सेवा सुचारु गर्ने भन्ने निर्णय भयो। बैंक खुले तर सवारी चलेनन्। म काठमाडौं फिर्ता हुन सकिन। बैंकले मलाइ काजमा राष्ट्रिय बाणिज्य बैंकको नेपालगञ्जको त्रिभुवन चोक शाखामा काम गर्ने अनुमति दियो। मैले त्रिभुवन शाखाको शाखा प्रवन्धकका रुपमा रहेर काम गरिरहेको थिएँ।

नेपालगञ्जको धम्बोजी चोकमा रहेको शाखा कार्यलयका कर्मचारीमा कोरोना पुष्टि भएपछि शाखा सिल भयो। उक्त शाखा शिल हुँदा त्यहाँको ग्राहक पनि त्रिभुवन चोकबाट नै सेवा लिन थाले। उपभोक्तालाई सेवा दिनको लागि बैंक कर्मचारी पनि फ्रन्ट लाइनमै बसेर काम गर्नु परिरहेको अवस्थामा त्रिभुवन चोकको शाखाका पनि ५ जना स्टाफहरुमा कोरोना संक्रमण पुष्टि भयो। म पनि त्यही संक्रमणको चपेटामा परेँ।

कोरोना पुष्टि भएपछि म कोहोलपुरको एक होटलमा आइसोलेसनका लागि गएँ। करिब १५ दिन आइसोलेसनमा बसियो। मलाइ आइसोलेसनका दिनहरुमा विना अपराध कैदी भएको अनुभव भयो। लक्षण नदेखिएकाले मलाइ कोरोनाले त्यति धेरै समस्या त गरेन, तर समस्या स्वास्थ्यमा नभए पनि १५ दिनसम्म एकान्तमा बस्दा मानसिक तनाव साह्रै व्यहोर्नु परेको थियो।

खुसी हुने र दुःखी हुने मानिसहरुबीच गरिएको अध्यायनमा खुसी हुनेको भन्दा दुःखी हुनेको शरीरमा रोगहरु धेरै भेटिएका थिए। र, उनीहरुको औषत उमेर पनि खुसी हुने भन्दा कम नै थियो। यो कोरोनाका बीच मैले पनि आफ्नै शरीरमा त्यस्तो किसिमको रसायन उत्पादन भएको अनुभव गरेँ।

आइसोलेसन बस्दाका दिन अकल्पनीय नै हुन्छन्। बाहिर हेर्न नपाइने, जान नपाइने। कोठा भित्रमात्र बस्दा आफूले आफैलाई के भयो मैले के गरेँ झैं लाग्ने। हामी त बैंकमा काम गर्दा दैनिक हजारौं मान्छेसँग प्रत्यक्ष साक्षात्कार गरिरहेको बानी कोठाभित्र बस्दा साह्रै गाह्रो हुँदोरहेछ। कोरोना भन्दा पनि आइसोलेसनमा बस्ने समय अकल्पनीय र सम्झन योग्य भयो।

कोरोनाले विश्वका धेरै मानिसलाई आफ्नो चपेटामा पारेको कुरा सदैव मानसपटलमा घुमी रह्यो। धेरैको ज्यान गएको खबर पढेको र सुनेकोले मलाइ पनि कहिले कतै त्यता तिर सोच्न पनि बाध्य गराउँथ्यो। सोच्थे पनि। तर, आफैले मन पनि बुझाउथेँ।

केही अध्यायन तथा अनुसन्धानहरु पनि पढेको थिएँ। ती लेख तथा रचनाहरुमा लक्षण नदेखिएकोलाई कोरोनाले धेरै असर पनि नगर्ने पढेको थिएँ। मैले ती अध्यायनहरुलाई पनि सम्झेँ र आफैंले आफैलाई सम्झाउने प्रयास गरेँ। मलाइ पनि लक्षण छैन सायद केही हुँदैन होला।

आफूलाई केही हुँदैन भनेर सोचिरहँदा पनि घरमा भएका श्रीमती र छोरा छोरीको पिरले पनि सताइ रहन्थ्यो। म संक्रमित हुन पूर्व आफ्नै घरमा बस्ने भएकाले उनीहरुमा पनि कतै संक्रमण भयो की भन्ने सोचिरहन्थे।

पछि उनिहरुलाई चेकअप गरेर रिपोर्ट आएपछि म एक तर्फबाट ढुक्क भए। उनीहरुको रिपोर्ट नेगेटिभ आएकाले मलाइ केही राहत भयो। त्यसपछिका दिनमा मैले आफूलाई समाल्न सजिलो भयो। र कोरोनालाई सहजै जित्न सफल भए जस्तो लाग्छ।

कोरोनाको औषधि केही छैन। यो कुरा सबैलाई थाहा छ। तर, जवसम्म कोरोनालाई जित्न सक्छु भन्ने आफूमा हौसला आउँछ र त्यो हौसला र आत्मबलले पनि कोरोनासँग लडन सजिलो हुने रहेछ। हामीमा भएको रोग प्रतिरोधात्मक क्षमता बढाउन सदैव खुसी हुनुपर्ने रहेछ। मैले एउटा अध्ययन गर्ने अवसर पाएको थिएँ।

खुसी हुने र दुःखी हुने मानिसहरुबीच गरिएको अध्यायनमा खुसी हुनेको भन्दा दुःखी हुनेको शरीरमा रोगहरु धेरै भेटिएका थिए। र, उनीहरुको औषत उमेर पनि खुसी हुने भन्दा कम नै थियो। यो कोरोनाका बीच मैले पनि आफ्नै शरीरमा त्यस्तो किसिमको रसायन उत्पादन भएको अनुभव गरेँ।

जबसम्म मेरो परिवारको रिपोर्ट आएको थिएन तबसम्म मेरो शरीर र मनले सोच्ने कुरा पनि फरक हुथ्यो। अनि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मेरो शरीर र मनले सोच्ने कुरामा फरक पाएँ।

मैले अरुलाई अनुरोध गर्नु पर्ने कुरा भनेको आत्मबललाई नै मजबुद बनाउनुहोस् भन्ने हो। अहिले कतिपयले चेकअप नगराउने, आफैंले उपचार खर्च व्यहोर्नु पर्ने भएकोले पनि चेकजाँच गराउनु भन्दा नगराउन उचित ठान्ने गरेका छन्। तर, त्यो गलत हो।

हामीले कोरोनालाई केही हैन भन्ने तरिकाले पनि जानु हुँदैन। हाउगुजी नै हो भनेर डराउने पनि हैन। त्यसैले आत्मअनुसाशनको पालना गर्दै सचेत रहेर अगाडि बढ्ने गर्नु पर्छ।

मैले तातो पानी धेरै खाएँ। बेसार पानी पनि दिनमा २ गिलास जति खाने गरेको थिएँ। झोलिलो कुरा धेरै खानु पर्ने रहेछ। अनि अर्को कुरा सकेसम्म हामीले आफ्नो शरीरलाई उर्जावान बनाउन सामान्य भए पनि योगाभ्यास गर्ने।

कागती पानी पनि पीउने गर्नुपर्छ। जतिसक्दो आफूलाई व्यस्त राख्ने र कोरोनाका बारेमा एक पल पनि नसोच्ने। म कोरोना रोगी हो भन्ने तरिकाले नै आफूलाई परिभाषित नगर्ने ता कि आफूमा भएको आत्मबल भन्दा ठूलो रोग हुन नपाओस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *