गोदावरीले निःशुल्क स्वाब परीक्षण गर्ने

डिसी नेपाल
६ कार्तिक २०७७ ११:००

ललितपुर । काठमाडााैं उपत्यकामा रहेकाे गोदावरी नगरपालिकाले निःशुल्क स्वाब परीक्षण गर्ने भएको छ। गोदावरीले बुधबार एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका नगरवासीको कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएका व्यक्तिलगायत परिवारको निःशुल्क पिसीआर परीक्षण गर्ने जनाएको छ।

कोभिडले नगरवासीमा पर्ने जोखिम न्यूनीकरणका लागि सो व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए। उनले भने, “हामीले आजबाट कोरोनाको लक्षण देखिएका नगरवासीको हितमा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रहेको रकम खर्च गर्ने भएका छौँ । वडा नं ६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा लगेर यी व्यक्तिको निःशुल्क स्वाब परीक्षण गराउने व्यवस्था गरिसक्याैँ।”

यसैगरी गोदावरीले वडा नं ४ बडिखेलस्थित कोरियन होटलमा महिनाको रु दुई लाख ५० हजार तिरेर कोरोना सङ्क्रमितलाई राख्ने व्यवस्था गरिसकेको छ । नगरपालिकाले पहिलो चरणमा तीन महिनाका लागि भदौदेखि यही कात्तिकसम्म सो होटल भाडामा लिएको थियो । अहिले पनि त्यहाँ छ जना कोरोना सङ्क्रमितलाई राखेर सेवा दिइरहेको नगरप्रमुख महर्जनले जानकारी गराए।

उनका अनुसार यसअघि होटल आइसोलेसनमा राखिएको १७ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किसकेको छ । घरमा आइसोलेसन बस्न उपयुक्त वातावरण तथा कोठालगायत शौचालय नभएका कोरोना सङ्क्रमितलाई नगरपालिकाले होटल आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ । यसका साथै नगरपालिकाले प्रत्येक सङ्क्रमितलाई दैनिक रु एक हजारको खाना र खाजाको व्यवस्था समेत गर्दै आएको नगरप्रमुख महर्जनको भनाइ छ । “यस होटलमा ५० शय्याको सुविधा छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका कोरोना सङ्क्रमितलाई राख्न यो होटल भाडामा लिएर सहयोग गरिरहेका छाैँ ।”

गोदावरीमा मङ्गलबारसम्म कोरोना सङ्क्रमित सङ्ख्या ४६८ पुगेको छ । तीमध्ये उपचार पछि निको भएर घर फर्किनेको सङ्ख्या २२७ जना रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने २३४ रहेका छन् । अहिलेसम्म कोरोना सङक्रमणबाट सात जनाको मृत्यु भइसकेको नगरपालिकाले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *