टाट पल्टिए छोरीको बिहेमा ८ अर्ब खर्च गर्ने व्यापारी, टाट पल्टिने देशकै ठूला व्यवसायी बन्दै
काठमाडौं। बेलायतमा रहेर व्यवसाय गर्ने भारतीय व्यापारी प्रमोद मित्तल बेलायतकै सबैभन्दा ठूला टाट पल्टिने व्यापारी बन्ने भएका छन् । बेलायटका स्टिल टाइकून व्यापारी लक्षी मित्तलका भाइ प्रमोद मित्तलमाथि २.५ बिलियन पाउण्ड (३ खर्ब ८७ अर्ब नेपाली रुपैयाँ) बराबर ऋण रहेको बताइएको छ । यति ऋणले उनलाई बेलायतकै सबैभन्दा ठूला टाट पल्टिने व्यापारी बनाउनेछ । यी प्रमोद मित्तल उनै हुन् जसले आफ्नी छोरीको बिहेमा ५० मिलियन पाउण्ड अर्थात झण्डै ८ अर्ब नेपाली रुपैयाँ खर्च गरेका थिए ।
बेलायतको द टाइम म्यागजिनलाई उद्धृत गर्दै बिजनेस टुडेले लेखेअनुसार प्रमोद मित्तलले अहिले आफूसँग कुनै आय नभएको बताएका छन् । उनका अनुसार उनीसँग अहिले सम्पत्तिको नाममा १ लाख १० हजार पाउण्ड बराबरका सामानहरु छन् । उनको नाममा ४५ पाउण्ड मूल्यको मात्र सम्पत्ति छ जुन भारतको दिल्ली नजिकै छ । उनका अनुसार उनले आफ्ना ९४ वर्षका पितासँग १७० मिलियन पाउण्ड, श्रीमती संगीतासँग १.१ मिलियन पाउण्ड, आफ्ना ३० वर्षीय छोरासँग २.४ मिलियन पाउण्ड र आफ्ना बहिनी ज्वाइँ अमित लोहियासँग १.१ मिलियन पाउण्ड ऋण लिएका छन् जुन तिर्न बाँकी छ ।
आफ्नो ठूलो अर्चको लागि चिनिने प्रमोद मित्तल उनै हुन् जसले ७ वर्षअघि २०१३ मा आफ्नी छोरी श्रृष्टिको डच मूलका बैंकर गुलराज बहलसँग बिहे गरिदिँदा ५० मिलियन पाउण्ड खर्च गरेका थिए । यो खर्च उनका दाजु लक्ष्मी मित्तलले आफ्नी छोरी वनिशाको बिहेमा गरेको खर्चभन्दा १० मिलियन पाउण्ड बढी हो । लक्ष्मी मित्तलकी छोरी वनिशाको बिहे २००४ मा प्यालेस अफ वर्सायमा भएको थियो ।
प्रमोद मित्तलको व्यवसायमा कठिनाइ १४ वर्षअघि त्यतिबेला सुरु भएको थियो जब उनले बोस्नियाको कोक निर्माता कम्पनी गिकिलको लागि ऋण लिने क्रममा ग्यारेन्टी बसिदिए । उनको कम्पनी ग्लोबल स्टिल होल्डिङसले गिकिलको लागि ग्यारेन्टी बसिदिएको थियो । पछि गिकिल नै टाट पल्टियो । गिकिलले प्रमोद मित्तलको कम्पनीलाई ग्यारेन्टर फर्मको पैसा फिर्ता दिन सकेन । मुरगेट नामको कम्पनीले यो ऋण तिर्यो र पछि यही कम्पनीको पक्षमा बैंकरप्ट अर्डर आयो ।
मुरगेट इण्डष्ट्रिजको एक बयानका अनुसार प्रमोद मित्तल तय समयसम्म भुक्तानी गर्न असमर्थ रहे त्यसपछि टाट पल्टिएको कारवाही सुरु गरिएको थियो । यही वर्षको जूनमा अदालतले ब्याजको साथमा १३० मिलियन पाउण्डको लागि प्रमोद मित्तल विरुद्ध टाट पल्टिएको (बैंकरप्ट) आदेश जारी गरिदियो । यसको अतिरिक्त बोस्नियाली कम्पनीको केसमा उनीविरुद्ध जाँच गरियो जसमा उननीमाथि धोकाधडीमा सहभागी भएको आरोप लाग्यो र उनलाई गिरफ्तार गरियो । तर, पछि १ मिलियन पाउण्ड धरौटीमा छाडियो । जाँच अझै जारी छ ।
Facebook Comment