कोरोना अनुभव : वनको बाघ भन्दा मनको बाघ डरलाग्दो हुँदाेरहेछ

डिसी नेपाल
७ कार्तिक २०७७ ७:०१

कुनै बेला सोचिन्थ्यो, दिनभर सुतेर सिनेमा हेरेर बस्न पाए क्या आनन्द आउँथ्यो। त्यो दिन यस पाली भोगियो तर, अर्कै तरिकाले। त्यो भोगाइमा फेरि बाहिरी वातावरणमा कहिले निस्कन पाउने? भन्ने छटपटी र एकान्तको घृणासहितको।

संसारभर महामारीका रुपमा रहेको कोरोना भाइरस संक्रमणले मलाइ पनि चोखो छाडेन। पीसीआर गरेको ५ दिनमा पोजेटिभ रिपोर्ट आयो। मानसिक रुपमा म तयार नै थिएँ। मलाइ रिपोर्ट आउन्जेलसम्म कतिपय लक्षण देखिएर पनि निको भैसकेको थियो। अहिले स्वास्थ्यलाभ गरिसकेको छु। जे नहोस भन्ने कुराले ८ महिनादेखी मनले कामना गरेको थियो त्यै भएर पनि निको भइसक्यो।

असोज १ गतेदेखि सरकारले लामो दूरीका सवारीसाधन चलाउन पाउने निर्णय गरेको थियो। करिब ५ महिना लामो गाउँघरको बसाईपछि कर्मथलो काठमाडौँले बोलायो। २ गते रात्री बस चढेर काठमाडौँ आएँ। दशैँको मुखमा सबैजना घर जाने बेला म चाँही काठमाडौं आउँदै थिए। ७ गतेसम्म कोठामै बसेर बिताएँ। ७ गतेपछि काममा निरन्तर अफिस आउन थालेको थिएँ।

असोज १५ गत्ते अफिसमा निकै हलचल मच्चियो। अफिसका ३ जना सरहरुलाई लक्षण देखिएपछि पीसीआर गर्न जानुभएको थियो। १८ गत्ते आइतबार उहाँहरुको रिपोर्ट आयो। एकजना पोजेटिभ अरुको नेगेटिभ। भोलिपल्ट हामी ४ जनाको परीक्षण गराउने निर्णय गर्यौँ।  तिन्जेलसम्म खासै लक्षण देखिएको थिएन। सामान्य घाँटी खसखस हुने र जिउ दुख्ने समस्यामात्र देखिएको थियो।

मानिसहरुले अधिक समस्या भोगेर भएपनि सरकारलाई साथ दिएका छन्। यसबारे सरकार पनि समय छँदै संवेदनशील बनोस। नागरिकले अभूतपूर्व साथ दिएको यस बेला सरकार पनि उत्तिकै सक्रिय भएन भने भोलि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । यसबारे नेतृत्वपंक्ति बेलैमा सचेत हुन आवश्यक छ। यतिबेला कोरोनाले सबैमा एउता सन्देश दिएको छ।

वनको बाघले खानु कता छ कता मनको बाघले खाइसकेको थियो। मिडियाको बारम्बारको कोरोना चर्चा र मानिसहरुको मनोविज्ञानले कोरोनालाई हाउगुजीका रुपमा भित्री आत्माले लिइसकेको थियो। १९ गते सोमबार वीर अस्पतालमा स्वाब दिएर आएपछि बेलुका एक्कासी ज्वरो आयो।

केही पनि खान मन लागेन सरहरुको करले गर्दा थोरै खाना खाएर सुतेँ। त्यतिबेला नेपालमा मृत्युदर त एकदमै कम थियो तर , मनमा लाग्दै थियो त्यै कम तथ्याङ्कमा परिने पो हो कि? दिमागले त्यसलाई दबाउँदै आइरहेको थियो।

जब हमी चारैजनको रिपोर्ट पोजेटिभ आयो तब संकटै परेको होकि भन्ने लाग्यो। असोज २२ गते साँझदेखि शरीरको स्थिति र दिमागमा खेल्ने कुराको आक्रामक प्रस्तुतीले एकै चोटी छोपे जस्तो लाग्यो। पहिल्यै लक्षण देखिएकाले मानसिक रुपमा केही हदसम्म तयार नै थिएँ। सँगै अरु सहकर्मी सरहरुपनि भएकाले आफूलाई बसमा राखेको थिएँ।

कोरोना संक्रमित भइसकेपछि घरमा बुबाआमालाई सुनाउने आँट गरिन। दाइलाई फोन गरेर अहिले कसैलाई हल्ला नगर्ने सल्लाह भयो। केही दिनपछि केही आफन्तहरुले थाहा पाए। केही साथीभाइहरुले पनि थाहा पाए। पोजेटिभ देखिनुभन्दा पहिल्यै सम्पूर्ण रुपमा तयार भएकाले आइसोलेसनमा कुनै समस्या भएन।

धेरैले संक्रमित भएको थाहै पाएनन्, थाहा पाउनेले पनि फोन, म्यासेज गरेर निरन्तर हौसला दिइरहे।  अफिसले खाना बस्नको निकै राम्राे  ब्यवस्था गरेको थियो। यो ब्यवस्थाको लागि अफिस सम्पूर्ण टिमसँग मनैदेखि निकै आभारी पनि छु। सम्पूर्ण साथीभाई, इष्टमित्र र अफिस र सम्पूर्ण टिमको बारम्बारको सल्लाह सुझाव अनि कियरले गर्दा आज संक्रमणमुक्त भइरहँदा आफ्नो सपना,इच्छा र लक्ष्य पूरा गर्न प्रेरणा लिन र आफ्नो मनको कुरा सुनेर अघि बढ्न सिकाउनु भएको छ।  विषम परिस्थितिलाई सहज बनाउने र अवसरको रुपमा लिने बाटो देखाइ दिनुभएको छ।

मानसिक रुपमा तयार भए पनि पोजेटिभ रिपोर्ट आएको दिन निन्द्रा लागेन। यस्तो बसाई कति दिन चल्छ कुनै टुङ्गो छैन। पहिला कुनै बेला यस्तो संकट भोगेको पनि छैन। त्यसैले हामी अनुभवी हुने कुरै भएन।

‘नमरी स्वर्ग देख्न पाइँदैन’ भने झैं आफू संक्रमित भइसकेपछि निकै संयमित हुन थालेको छु आफ्नो ख्याल गर्ने मामलामा। कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकाले यसबाट बच्ने प्रमुख उपाय भनेकै मान्छे–मान्छेबीच दूरी कायम गर्नु हो। त्यसैले अहिले हामी सबैले आफ्नो सुरक्षा आफै गर्नु आवश्यक छ।

मानिसहरुले अझै पनि नेपालमा कोरोना भाइरसलाई गलत बुझेका छन्। हामीले आफू सुरक्षित हुनका लागि स्वेच्छिक रुपमा ‘आइसोलेसन’मा बस्ने प्रक्रिया हो। यो सरकारका लागि नभएर हाम्रो आफ्नै लागि हो भन्ने जनताले बुझेमा समस्या आउँदैन। हामीले पनि यो कुरालाई नकार्न सकेनौं।

कोरोना वास्तबमा निकै सामान्य नै हुँदोरहेछ मानिसको दिमागमा परेको छाप चाहीँ यसको डरलाग्दो रुप। सकभर लाग्न नै नदिनु उत्तम उपाय, यदि लागिहाले मानसिक रुपमा आफूलाई निकै दह्रो पार्नुपर्छ। नियमित सरसफाई ध्यान दिएर, खानामा सन्तुलन गरेर अनि नियमितको तातोपानीले नै मलाइ संक्रमणमुक्त हुनमा सहयोग पुगेको जस्तो लाग्छ।

संक्रमित भएर १४ दिनसम्म आइसोलेसनमा बसिरहँदा नरमाइलो कुरा सरकारको कुनै निकायले एक कल फोनसमेत गरेनन्। मेरो देशको नागरिप्रतिको जिम्मेवारी देख्दा आफैंलाई लाज लाग्यो। यतिबेला म संक्रमणमुक्त भएर आइरहँदा मेरो देश दलदलमा फस्दै गइरहेको देख्छु। यसको निकाश कहिले कुन स्तरमा होला अनुमान गर्न कसैले सक्ने नै भएनौं।

तर सबैजनाले सकेसम्म रमाइलो गरी घर भित्र नैं बस्नुको विकल्प हामीसँग छैन। कोरोना आफैं घरमा आउँदैन त्यसलाई बाहिर गएर ल्याउनु पर्दछ भन्ने मान्यता अनुसार हामी घरभित्रै बसेर कोरोनासँग मुकाविला गरौं।

कतिपय समाचार हेर्दा मानिसहरुले अधिक समस्या भोगेर भएपनि सरकारलाई साथ दिएका छन्। यसबारे सरकार पनि समय छँदै संवेदनशील बनोस। नागरिकले अभूतपूर्व साथ दिएको यस बेला सरकार पनि उत्तिकै सक्रिय भएन भने भोलि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।

यसबारे नेतृत्वपंक्ति बेलैमा सचेत हुन आवश्यक छ। यतिबेला कोरोनाले सबैमा एउता सन्देश दिएको छ। जात, धर्म, वर्ग, रंगआदिको भेद नगरिकन आफ्नो देशमा कोरोना संक्रमण फैलन नदिन पहल गर्नु। र, एकतामा शक्ति हुन्छ भन्ने मान्यतालाई यथार्थमा उतार्नु।

कोरोनाको बिषयमा संसारभरका बैज्ञानिकहरु अनुसन्धान गर्दैछन् भन्ने सुनिन्छ आशा गरौँ चाँडै यसको औषधि सबैले पाउनेछन्। विश्व महामारीको दलदलबाट उठ्नेछ। यतिबेला हाम्रो कर्तव्य सरकारलाई आफ्नो तवरबाट सहयोग गर्नु हो त्यसैले आफू पनि बचौँ अरुलाई पनि बचाउँ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *