सैनिक मञ्चमा फूलपाती बढाइँ

डिसी नेपाल
७ कार्तिक २०७७ १८:०२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भएका छन। समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन । सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ ग¥यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत ग¥यो ।

कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो । यस पटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो मात्र होइन, कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो । बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिगण, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि फूलपाती बढाइँ हेर्न सैनिक मञ्च पुगेका थिए । उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत अभिवादन गरेका थिए । बढाइँ हेर्न विगतमा जस्तो टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो देखिन्नथ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *