चेपाङलाई दशैँ राहत

डिसी नेपाल
८ कार्तिक २०७७ २०:२५

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा रहेका लोपोन्मुख चेपाङ समुदायले बडादशैँ मनाउनका लागि राहत पाएका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लमजुङले आज राहत वितरण गरेको हो ।

बेँसीशहर नगरपालिका– ११ चिती बरबोटमाका १० घर र दोर्दी गाउँपालिका –९ भीरकुनाका चार घर गरी १४ घरलाई प्रतिपरिवार १५ किलोका एक बोरा चामल, दुई किलो दाल, एकएक पोका नुन र सोयाबिन, एक लिटर तेल र एक पोका कुकिज सहयोग गरिएको हो । सो सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सीमान्तकृत समुदाय चेपाङ गरीब भएका कारण दशैँ मनाउन समस्या भएको थाहा पाएपछि राहत सहयोग गरिएको बताए।

दशैँ मनाउन चिन्तामा रहेका उनीहरुले राहत पाएपछि धेरै खुशी हुँदै प्रशासनलाई धन्यवाद व्यक्त गरेका थिए । दशैँ शुरु भएको साताँै दिन अर्थात् फूलपातीको दिनसम्म दशैँ कसरी मनाउने अन्योलमा परेका आफूहरुले राहत पाएपछि रमाइलोसाथ मनाउन सकिने ५७ वर्षीय पूर्णबहादुर चेपाङले बताए । स्थानीयवासी तिलकबहादुर चेपाङले भने, “विगतमा दशैँका बेला सहयोग प्राप्त हुँदै आएको थियो । हामीले सहयोगका भरमा दशैँ मनाउँदै आइरहेका छौंँ ।”

वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उनीहरुलाई गत वर्ष गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएको थियो । उनीहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि अर्थाभावका कारण खान भने समस्या भइरहेको छ । उनीहरु छिमेकीका खेतबारीमा काम गर्दै मुश्किलले जीवन निर्वाह गर्दै आइरहेका छन् ।

उनीहरुले केही वर्ष अघिसम्म मस्र्याङ्दी नदीमा माछा मारेर जीविका निर्वाह गरे पनि पछिल्लो समय जलचर लोप हुँदै गएपछि सो पेशा अँंगाल्न सकेका छैनन् । यहाँका अधिकांश चेपाङ खुलेर आफ्ना समस्या अरुसामु राख्न सक्दैनन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *