अस्पतालको लापरवाहीले आत्तिएको थिएँ, भगवान भरोसामा कोरोना जितेँ

डिसी नेपाल
११ कार्तिक २०७७ ७:३१

कोरोना यसैगरी स-यो भन्ने प्रमाण त छैन। मलाइ कोरोना पोजेटिभ आएपछि मैले भेटेका र मलाइ भेटेका सबैलाई सतर्क रहन आग्रह गरेको थिएँ। उहाँहरु कैसैलाई पनि अहिलेसम्म पोजेटिभ देखिएको छैन।

मेरो विचारमा ममा कोरोना सर्नुको कारण भनेको ‘ह्यूमन इरर’ नै हुनुपर्छ जस्तो लाग्छ। मैले ल्याएको तरकारी, फलफूल आदि कुराहरु चलाएपछि सायद भूलेर नाक, मुख तिर मेरो हात गयो होला। त्यतैबाट कोरोनाको संक्रमण भयो होला भन्ने मेरो व्यक्तिगत बुझाइ छ।

सरकारले छुट्याएको जोखिम वर्गमा आफूलाई राखेको थिएँ। आफू जोखिम वर्गमा परेको छु भन्ने थाहा भएपछि मैले सबै सतर्कताका उपाएहरु अपनाएको थिएँ। तर, पनि पोजेटिभ भयो। मेरै घरमा रहेका मेरा परिवारका कोही पनि सदस्यहरुमा कोरोना पोजेटिभ भएको छैन।

केही सीमित साथीहरुलाई मात्र भेटेको थिएँ। उहाँहरुलाई पहिला पनि थिएन, पछि पनि भएन। भनेपछि मलाइमात्र कोरोना देखियो। त्यसैले मैले अघि पनि भने सायद कुनै मानवीय त्रुटीकै कारण सरेको हुनुपर्छ।

मैले यो अनुभव सुनाई रहँदा बिर्सिनै नहुने कुरो भनेको अस्पतालहरुको व्यथिति हो। अस्पतालहरु कारण भएर सरकारले नै कोरोना संक्रमण फैलाउन सहयोग गरेको छ भन्दा अतियुक्ति नहोला। अस्पतालको नाम नलिउँ तर, म बसेको अस्पतालमा हामीलाई चेकअप गर्ने नर्सले एउटैमात्र पञ्जा लगाएर सबै बिमारीहरुलाई चेकअप गरिन।

यदि पशुपतिनाथको शक्ति हुने थिएन भने आफैं कोरोना लागे जस्तै भएको सरकारले जनता त के आफूलाई पनि बचाउन सक्ने थिएन। म पनि व्यक्ति भगवान भरोसा कोरोना जित्न सफल भएको हुँ। अस्पतालमा गएर मैले जतिसुकै पैसा खर्च गरे पनि उनीहरुको चरम व्यथितिका कारण कतिपयलाई भगवानले पनि हात थाप्न सक्नु भएको छैन।

मैले पञ्जा फेर्न पर्दैन भनेर सोध्दा उल्टै सबै कोरोनाकै विमारी त हुनुहुन्छ किन फेर्नु प-याे  पञ्जा भनेर जवाफ दिइन्। अस्पतालले राखेका नर्सहरु कुनै एउटा कम्पनीले भाडामा लगाएको पाइयो। नर्सहरुलाई न ज्वरो नाप्न आउँछ न त सुई लगाउन नै जानेका छन्।

अस्पतालहरुको व्यतिथि हेर्दा सरकार किन चुप लागेर बसेको होला भन्ने प्रश्न बारबार मनमा आइरह्यो। अस्पतालहरुमा नर्सको व्यवस्था सरकारले आफैं गरेको भए नर्सहरुको तलबभत्ता भनेर सरकारको कोषबाट कटौती भएको पैसा उनीहरुको हातमा पुग्थ्यो होला।

उनीहरुले पनि जाँगर लगाएर अलिकति भए पनि जोखिम मोलेर काम गर्थे होला। कुनै एउटा कम्पनीबाट नर्सहरु राख्ने गरेकाले सरकारले नर्सको नाममा छुट्याएको रकम पहिला कम्पनीलाई जान्छ अनि कम्पनीले आफ्नो कमिसन कटाएर नर्सहरुलाई तलव दिने रहेछ।

यो दृश्यको उदाहरण त इमर्जेन्सीको हो। मलाइ क्याविनमा सारियो। म क्याविनमा बस्दा पनि डाक्टहरुको उपस्थिति झण्डै २४ घण्टा बित्दा पनि भएन। डाक्टरहरु पनि बिमारी प्रति कति गैह्र जिम्मेवार छन् भन्ने उदाहरण पनि भयो। म राजनीतिक कार्यकर्ता होइन।

सेवामा लागेको मान्छे। आफूलाई लेखक पनि भन्न रुचाउँछु। मैले  १७ पुस्तक पनि लेखेको छु। अस्पतालकै कुरा गर्ने हो भने क्याविन लिएर बस्न सकेको थिएँ। हामी जत्तिको मान्छेलाई त डाक्टरहरुले हेर्न २४ घण्टा कुर्न पर्छ भने सामान्य नागरिकको अवस्था के होला। कल्पना गर्दा पनि कति दयनीय अवस्था होला।

सरकारका प्रवक्ताले सधैं आइसीयू रहेका बिमारी, भेन्टिलेटरमा भरहेका विमारी र सामान्य आइसोलेसनमा रहेका बिमारीको रेकर्ड सार्वजनिक गर्नु हुन्छ। अस्पतालहरुको आइसीयू, भेन्टिलेटर र आइसोलेसन बेडका बारेमा जानकारी दिनु हुन्छ। उहाँले भनेको विमारी सँख्या अनुसार बेडहरु खाली नै छन्।

तर, तपाईँको पहुँच माथिसम्म भएन भने, उपल्लो लेबलको मान्छेले अस्पतालमा फोन गरेन भने र तपाईँले आफ्नो शक्ति प्रदर्शन गर्न सक्नु भएन भने तपाईँलाई बेड पाइँदैन। कतिपय समाचारहरु त सुनेकै छौं। पढेका पनि छौं। बेडको अपेक्षा गर्दा गर्दै बिमारीको मृत्यु भयो भनेर। यथार्थ त्यही हो।

अस्पतालहरुले लिएको मनोमानी शुल्क, बेड उपलब्ध गराउनका लागि चाहिने पावर, पैसा र अस्पताल क्षेत्रभित्रको कोभिड प्रतिको लापरवाही हेर्दा राज्य संचालनमा व्यथितिको पराकाष्टा भन्न मिल्छ। सरकारले दिएको अनुदान कहाँ प्रयोग भएको छ? सरकारलाई मतलब छैन।

अस्पतालहरुले कति सावधानी अपनाएका छन्? सरकारलाई मतलब छैन। शुल्क कति निर्धारण गरेका छन् र कति शुल्क उठाइरहेका छन्? सरकारलाई मतलब छैन। मैले सुरुमा भनेको शब्द कोरोना फैलाउन सरकारले नै महत्वपूर्ण भूमिका खेलेको छ यी र यस्तै अन्य कुराहरुले पुष्टि हुन्छ। यो विषयमा प्रतिपक्षले पनि आफ्नो शक्ति देखाउने बेला हो यो। जनताको आखाँमा धुलो छर्ने र हामीले विरोध गरिरहेका छौं भनेर विरोधका नाममा विरोध गर्ने हैन। सरकारलाई खबरदारी गर्न सक्नु पथ्र्यो।

यी केही प्रतिनिधि घटनामात्र हुन्। यस्तो स्वास्थ्य संकटकालका बेला सबैमा सेवाको भावना आउनु पर्ने धेरैले कमाइ खाने बेला सम्झेका छन्। धेरैले यो कठिन परिस्थितिलाई कमाउने अवसरका रुपमा लिएका छन्।

त्यसैले म त भन्छु यदि पशुपतिनाथको शक्ति हुने थिएन भने आफैं कोरोना लागे जस्तै भएको सरकारले जनता त के आफूलाई पनि बचाउन सक्ने थिएन। म पनि व्यक्ति भगवान भरोसा कोरोना जित्न सफल भएको हुँ। अस्पतालमा गएर मैले जतिसुकै पैसा खर्च गरे पनि उनीहरुको चरम व्यथितिका कारण कतिपयलाई भगवानले पनि हात थाप्न सक्नु भएको छैन।

अन्त्यमा सबै नागरिकमा मेरो अनुभव के छ भने रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ। हामी आफै सचेत रहौं। आत्म अनुसासित बनौं। मास्क र सेनिटाइजरको सधैव प्रयोग गरौं। तातोपानी खाने गरौं। कमसेकम दिनमा १ पटक राति सुत्ने बेलामा वाफ लगौं।

स्वस्थ्य व्यक्तिले लिँदा पनि फरक पर्दैन। हामी आफू बाच्नु पर्छ। नेपालमा सरकारले गर्ला, अस्पतालहरुले गर्लान भनेर भर नपर्नुहोस्। मैले दोहोर्याउन चाहेँ। भगवान भरोसा मैले कोरोना जितेँ र भगवान भरोसा नै यो देश चलेको छ।

समाजसेवी दाहालसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *