भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने, २० मा मानार्थ महारथीको दर्जा दिइने

डिसी नेपाल
११ कार्तिक २०७७ १८:४८

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् ।

कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए । भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पणका साथै जङ्गीअड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय हुने छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *