कति कर्मचारी संक्रमित? सरकारसँग छैन तथ्यांक, कर्मचारी अभावमा काम प्रभावित

डिसी नेपाल
१३ कार्तिक २०७७ १३:१३

काठमाडौं। मुख्य सचिव शंकरदास बैरागीले बुधबार साँझ आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। मुख्यसचिव बैगारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएपनि अधिकांशले कोरोना संक्रमण पुष्टि जानकारी दिँदैनन्।

सरकारसँग कति कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ भन्ने कुनै तथ्यांक छैन। तर, कर्मचारी अभावमा काम प्रभावित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव शंकर नेपाल बताउँछन्।

कुनै पनि कर्मचारीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनै पर्छ भन्ने पनि छैन। कोरोना संक्रमण पुष्टि भएका कर्मचारीले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी नदिइ बिदामा बस्दा त्यस्तो तथ्यांक राख्न संभव नभएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्रोतले जनाएको छ।

‘अहिले कति कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो भन्ने सरकारसँग कुनै तथ्यांक छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता नेपालले डिसी नेपालसँग भने, ‘कोरोना लागेको विषय जानकारी गराएमात्रै थाहा हुने हो, कसैले जानकारी दिन नचाहे उनीहरुले गोपनीयताको हक अनुसार जानकारी नदिन पनि आउने विषय हो।’

सरकारसँग कति कर्मचारी कोरोना प्रभावित छन् भन्ने कुनै जानकारी नभएपनि कर्मचारीको अभावमा काम प्रभावित भएको छ। कोही कन्टाक ट्रेसिङमा परेर विदामा बसेका छन् भने केही कर्मचारी आफैं संक्रमित भएर विदामा बसेका छन्। धेरै कर्मचारी विदामा हुँदा सरकारी काम प्रभावित भएको हो।

यसअघि दशैं विदा भएका कारण पनि अहिले धेरै कर्मचारी कार्यलयमा हाजिर भइसकेका छैनन्। विशेष गरी काठमाडौं उपत्यका बाहिर घर हुने कर्मचारी काठमाडौं फर्किन केही समय लाग्ने देखिन्छ, जसले गर्दा काम झन प्रभावित भएको श्रम मन्त्रालयका एक कर्मचारीले बताए।

आफूलाई कोरोना संक्रमण पुष्टिको सार्वजनिक जानकारी गराउने कर्मचारीको समेत तथ्यांक राखेको छैन। यसरी तथ्यांक नराख्दा कति कर्मचारीमा कोरोना संक्रमण भएको भन्ने यकिन जानकारी हुन सकेको छैन।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या उल्लेख्य वृद्धि भइरहँदा कर्मचारी पनि संक्रमित हुने दर बढिरहेको छ।
नेपालमा हालसम्म १ लाख ६२ हजार ३५४ जना संक्रमित भएका छन् भने १ लाख २१ हजार८ सय २४ जना निको भएको छन्। हालसम्म ८८७ जनाको मृत्यु भइसकेको छ।

काठमाडौंमा मात्रै ५७ हजार दुई सय जना संक्रमित भएका छन्। ललितपुरमा ८ हजार ५२ र भक्तपुरमा ५ हजार ३ सय ९३ जना संक्रमित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *