एघार दिनको संवादहीनता तोड्दै प्रचण्ड बालुवाटारमा

डिसी नेपाल
१५ कार्तिक २०७७ १४:१७

काठमाडौं। ११ दिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा पार्टीभित्र देखिएको विवादलगायतका विषयमा छलफल भइरहेको छ। अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रचण्ड सवा एक बजे बालुवाटारमा प्रवेश गरेका थिए। दुई अध्यक्षबीच अहिले पनि संवाद जारी छ।

विशेष गरी कर्णाली विवाद सुरु भएपछि दुई अध्यक्षबीच दूरी बढेको थियो। प्रधानमन्त्री ओलीले यो बीचमा प्रचण्डसँग संवाद गर्न खोजेपनि प्रचण्डले विभिन्न वहानामा टार्दै आएका थिए।

प्रचण्डलाई भेट्न बुधबार महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका थिए। उनीहरुसँग प्रचण्डले प्रधानमन्त्रीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूलाई कर्नरमा पारेको गुनासो गरेको स्रोतले जनाएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि शुक्रबार बिहान खुमलटार पुगेका थिए। दिनहुँजसो प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा चिनिने नेता अर्का अध्यक्ष दाहाललाई फकाउन र दुई अध्यक्षबीचको संवादहिनता तोडाउन सक्रिय भएपछि शनिबार ओली र प्रचण्डबीच छलफल भएको हो।

पार्टीको निर्णय र सहमतिको उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको लगायतका आरोप प्रचण्ड–नेपाल पक्षले लगाउँदै आएको छ।

अध्यक्षद्धयबीच सम्बन्ध चिसिनुमा अर्को कारण ठीक एक हप्ता अघि भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँगको प्रधानमन्त्रीको भेटघाट पार्टी निर्णय विपरीत भएको उनीहरुको आरोप छ।

यसैगरी पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको ओलीपक्षलाई आरोप लगाउँदै प्रचण्ड(नेपाल पक्ष यतिबेला ओलीसँग रुष्ट भएको छ।

कात्तिक ४ मा नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डबीच कर्णाली विवाद समाधानबारे लामै कुरा भएको थियो। तर सहमति विपरीत प्रधानमन्त्री ओलीले एकलौटी निर्णय लिएर पत्राचार समेत गरेको भन्दै प्रचण्डले पछिल्ला भेटवार्ताको निम्तोसमेत अस्वीकार गर्दै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *