सुर्तीको खोल फालेर फोहर गर्ने कार चालकलाई अभियानकर्मीले फोहर टिप्न लगाए

डिसी नेपाल
१५ कार्तिक २०७७ १९:०६

काठमाडौँ । वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि अभियानकर्मीले चालकलाई कारबाट झारेर फोहर सफा गर्न लगाएका छन् । वाग्मती सफाइ महाभियानको ३९० औँ हप्तामा शङ्खमूल नदी किनारमा वा ७ च २४७५ नंको कार चालकले सुर्ती खाएर खोल नदी किनारमा फालेको देखेपछि अभियानकर्मी डा लक्ष्मी पौडेल नेतृत्वको समूहले फोहर टिप्न लगाएको हो ।

शङ्खमूल क्षेत्रको वाग्मती र मनोहरा नदी किनारको दोभान क्षेत्रमा ३९० औँ हप्ताको सफाइ अभियान सम्पन्न भएको छ । सफाइ गरी कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले सुनाइन् । यसैगरी पशुपति क्षेत्रको भष्मेश्वरघाट परिसरमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । त्यस क्षेत्रमा विगत हप्ताभन्दा सफा भेटिएको उनले जानकारी दिइन् ।

विष्णुमती माथिल्लो भेग सफाइ अभियानको नवौँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरिएको छ । चाडबाड एवं कोरोना सङ्क्रमण फैलिरहे पनि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए ।यसैगरी वाग्मतीका सहायक नदी रुद्रमती र मनोहरा, ललितपुरको गोदावरी खोला तथा चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाभियान शुरु भएको थियो ।

महाभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड एवं मुख्यमुख्य शहर गरी देशभर १०६ स्थानभन्दा बढी ठाउँमा सफाइ अभियान शुरु भएको छ । कोरोनाको महामारीका बीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सबै क्षेत्रमा सफाइ अभियान जारी रहेको जनाइएको छ ।
सफाइ महाभियान चाडपर्व, जाडो, वर्षा एवं कोरोनाको महामारीका बीच पनि जारी रहेको छ । कोरोनाका कारण बन्दाबन्दी जारी भएपछि गत चैत ११ गतेदेखि भने नदी किनार नजिकै बस्ने अभियानकर्मीले महाभियानलाई निरन्तरता दिँदै आएका छन् । नदी किनारभन्दा टाढा निवास हुने अभियानकर्मीले भने टोल सफाइ गर्दै कोरोनाविरुद्धको चेतना अभियानलाई समेत निरन्तरता दिएका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *