नेकपाकै जनप्रतिनिधिले नेतृत्वलाई सोधे ‘के पार्टी एकीकरण एउटा अपरिपक्क निर्णय थियो ?’

डिसी नेपाल
१७ कार्तिक २०७७ ७:४४

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भिर मोडमा उभिएको छ। भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटरमै भेटेर गएपछि नेकपा भित्रको आन्तरिक किचलोमा अझै मलजल पुगेको हो।

कर्णाली विवाद पनि नेकपाको फुटको कारण हुनसक्ने कतिपयको बुझाईमा छ। नेताहरुले सामाजिक सञ्जालमा पार्टी बचाउने तर्फ आफूले सकेको बल लगाएर याचना गरिरहेका छन्।

नेकपामा जानामाना नेताहरु मध्येका एक हुन् भीम रावल। उनले सामाजिक सञ्जाल ट्वीटरमा स्थायी कमिटी बोलाएर समस्या समाधानको बाटोमा जानुको विकल्प नभएको बताएका छन्।

उनले भनेका छन, ‘विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्। स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्। यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ। समझदारी, एकता र देशहित मनमा राखी समस्या समाधान गरौं।’

यस्तै, नेकपा नेतृ तथा इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आक्रोस पोखेकी छन्। उनले पार्टी एकताको काम चाडै सक्नु पर्ने, पार्टी एकता भएका केही प्रमाणहरु खै र केन्द्रमा मात्र पार्टी एकता र फुट हुन्छ र? भन्ने आशयले नेताहरुलाई खुल्ला प्रश्न भनेर सोधेकी छन्।

उनले सुरुमै नेताहरुलाई सोधेकी छन्, ‘के पार्टी एकीकरण टिनएज (युवा अवस्था) का युवा युवतीहरुको बिबाह जस्तो हो ?’ गौतमले भनेकी छन्, ‘पार्टी एकता भएको ३ वर्ष हुन लाग्यो अहिलेसम्म पार्टी एकता प्रक्रिया सकिएको छैन! यो एकता पार्टी शक्तिशाली बनाउन र ५ वर्ष स्थायी सरकार संचालनका लागि हो। लामो समयसम्म चलेको द्वन्दबाट अगाडि बढेको मुकुकको अर्थतन्त्र मजबुत बनाइ समृद्धि र बिकासको प्रत्यक्ष अनुभुति जनतालाइ दिनका लागि हो। मुलुक मै रोजगारिका अबसर सृजना गर्नका लागि हो। संविधानको मर्म र भावना अनुरुप जन आकांक्षा पूरा गर्नका लागि जस्ता धेरै ठूलो आसा र भरोसा नेकपासँग जनता को छ र हुनुपर्छ।  हालसम्म को अबस्था हेर्दा स्थानीय कमिटीहरुको पार्टी काम सामाजिक सञ्जाल मा जन्मदिन को शुभकामना र दिवंगत भएका नेता कार्यकर्ताहरुको श्रद्धाञ्जली व्यक्त गर्न का लागि मात्र देखिएको छ।’

एकता प्रकृया पनि टुङ्ग्याउन नसकेको नेकपा एकता प्रकृया पुग्नु पहिला नै फुटको संघारमा पुग्न सक्छ भन्ने धेरैको विश्लेषण रहेको छ। नेकपाकै कतिपय नेताहरुले स्वार्थमा एकता भएका कारण टिकाउ नहुने एकता भन्दा पहिला नै भनिसकेका थिए।

हाल सामाजिक सञ्जालमा नेकपाका बारेमा गरेका टिका टिप्पणीहरुले पनि नेकपा चाडैँ फुटको बाटोमा जाँदै छ भन्ने संकेत गर्छ। तर, नेकपाको आन्तरिक कलहले यस्तो रुप लिएको यो पहिलोपटक भने होइन। गत बैशााखमा पनि प्रधानमन्त्री ओलीले अध्यादेश नै ल्याएका थिए। पार्टी भित्रबाट नै चौतर्फी विरोध भएपछि अन्ततः अध्यादेश फिर्ता लिएका थिए।

उपप्रमुख गौतमले नेताहरुलाई सोधेकी छन:

के पार्टी एकीकरण टिनएज का युवायुवती हरु को बिबाह जस्तो हो?

१) खोइ जन संघठनहरुको एकता प्रक्रिया स्थानीय तहसम्म ?

२) कुन पालिकामा कति नेकपाका संघठित सदस्य छ्न खोइ नवीकरण रेकर्ड ?

३) दुईवटा पार्टी एकीकरण हँुदाका समयका कुन वडामा कति–कति सदस्यता संख्या थियो र कोको थिए सदस्य खोइ रेकर्ड ?

४) कुन कमिटी को अधिबेसन, सम्मेलन गरियो ?

५) नेतृत्व निर्माण को नियमित काम कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने खोइ योजना ?

६) एकीकरण सकिएका कमिटीहरुको नियमित मिटिङ बैठक खोइ?

७) हजाराँै कार्यकर्ता भएको पार्टी कमिटीका निर्णय प्रक्रिया ४ जना को कार्यलय बनाएर निर्णय गर्ने तानासाही प्रबृत्तिले पार्टी बन्छ ? कि बनेको पनि सकिन्छ?

८) लेनिनवादी संगठनात्मक सिदान्त बमोजिम पार्टी संचालन खोइ?

९) कमिटी निर्माणको मापदण्ड के ? आफ्ना नजिकका भर्ती केन्द्र, पुराना र योगदान गरेकालाई निस्कासन कहाँको न्याय हो ?

१०) आम जनतालाई अधिकार सम्पन्न बनाउने एजेन्डा बोकेको पार्टीका कार्यकर्ताको अधिकार हनन्ले कहाँ पुर्याउला?

११) कार्यकर्ता माथी चरम गुट्बन्दी र अपराधीकरणले के संकेत गर्दछ?

१२) पार्टीको जिम्मेवार पदमा बसेर पार्टी कमिटी र पार्टी काममा बिश्वास र भरोसा नभएर पार्टी को छाया झल्कने अमुक कमिटीहरु को निमार्ण परिचालन केहो?

१३) पार्टीको आगामी कार्ययोजना खोइ?

१४) तीनै तहको सरकार र पार्टी बिचको समन्वय खोइ?

१५) सरकारले गरेका काम को अपन्त्व पार्टीले लिनु पर्ने हो खोइ?

१६) सरकारलाई प्रतिपक्ष चाहिन्छ तर पार्टी भित्रै प्रतिपक्ष झल्किन्छ यो के हो ?

१७) देशभरका कार्यकर्ता जनताले बलियो नेकपा हेर्न चाहेका थिए खोइ?

१८) के पार्टी एकीकरण एउटा अपरिपक्क निर्णय थियो ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *