नेकपा विवाद : पेलेरै जाने रणनीतिमा प्रधानमन्त्री ओली

डिसी नेपाल
१८ कार्तिक २०७७ ११:२६

काठमाडौं। नेताको अभिव्यक्ति र सामाजिक सञ्जाल हेर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको नजिक छ। गत संसदीय निर्वाचनमा चुनावी तालमेल गरेका दुई पार्टी पूर्व तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएपनि नेकपाभित्र यस्ता विवाद धेरै पटक आए।

केही समय अगाडि मात्रै पनि नेकपा फुट नजिक पुगेको थियो। त्यो विवादलाई अस्थायी समाधान गरेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले फेरि विवाद उत्कर्षमा पुगेको छ।

नेकपाभित्रको अहिलेको विवाद कुनै वैचारिक वा सैद्धान्तिक होइन। कर्णाली प्रदेश सरकार विरुद्ध आफ्नै पार्टीका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि अहिलेको विवाद चुलिएको हो।

यो विवाद कतिसम्म उत्कर्षमा पुगेको छ भने अब प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई ‘सँगै बस्ने नसकिने भयो अब आफ्नो यात्रा तय गरौं’ भनेको भन्ने सार्वजनिक भएको छ। तर परिस्थिति कस्तो छ भने दुई अध्यक्ष सँगै पनि बस्न नसक्ने र छुट्टिन पनि नसक्ने अवस्थामा छन्।

अहिले प्रधानमन्त्री ओली पक्षका नेताहरुले प्रचण्डका कारण पार्टी विभाजनको संघारमा पुगेको आरोप लगाएका छन् भने प्रचण्ड पक्षधरका नेताले ओली समूहले पार्टी विभाजनको अन्तिम तयारी गरेको बताएका छन्। तर आम कार्यकर्ताले भने पार्टी विभाजन विरुद्ध खबरदारी गरिरहेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने हिम्मत आफ्ना सहकर्मी नेताहरुसँग नभएको विश्लेषण गर्दै पेलेरै अगाडि बढ्ने नीति लिएका छन्। ओलीले आफूले पार्टी विभाजन नगर्ने तथा प्रचण्डमा पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्ने साहस नभएको विश्लेषण गर्दै ओलीले असन्तुष्ट पक्षलाई पेलेरै अगाडि बढ्ने नीति लिएका छन्।

‘अहिले पार्टी भित्र देखिएको विवाद कुनै वैचारिक वा सैद्धान्तिक विवाद होइन। यो लेनदेनको विवाद भएकाले लेनदेनमै गएर टुंगिन्छ,’ ओली निकट एक नेताले डिसी नेपालसँग भने, ‘पार्टी फुटाउने पक्षमा प्रधानमन्त्री हुनुहुन्न। अरु नेतामा पार्टी फुटाएर अगाडि बढ्ने साहस छैन।’

ओली पक्षधरको बुझाइ के पनि छ भने अहिले अन्य विषयमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालको समूहले प्रचण्डलाई साथ दिएपनि पार्टी विभाजन गर्ने पक्षमा उनीहरुले प्रचण्डलाई साथ दिँदैनन्। नेपाल र खनालको साथ नपाएसम्म प्रचण्डले पार्टी फुटाउँदैनन् र प्रचण्ड आफूसँग मिल्नुको विकल्प नभएको ओलीको विश्लेषण छ।

समाजिक सञ्जालमा पोखिएका आक्रोस वा सुझाव हेर्ने हो भने वा ओली पक्षकै नेताका कुरा सुन्ने हो भने पनि ओली समूहमा पनि दुई धार छ भन्ने स्पष्ट हुन्छ।

पार्टी तत्काल फुटउनै पर्छ भन्ने मानसिकता भएका नेतहरुको आफ्नो स्वार्थ बाहेक केही छैन। उनीहरु पार्टी फुटाएर ओलीले राजनीतिक बागडोर सम्हालेमा आफूले अझै दुई वर्ष राज्य संचालनमा हालीमुहाली गर्न पाइने आशय छ।

तर, नेपालको राजनीतिक व्यवस्था नै संकटमा जाने गरी नेकपाको फुट् आवश्यक छैन भन्ने समूह अर्को छ। अर्को समूहले नेपालमा दलीय व्यवस्था सफल हुन नसकेको चिन्त व्यक्त गरेको छ। ओलीले ५ वर्ष सरकार संचालन गरेर दलीय व्यवस्थालाई मजबुद गर्नु पर्छ भन्ने अपेक्षा छ।

राजनीतिक अन्र्तरसंघर्ष ओली प्रचण्डकाबीचमात्र नभएर ओली भित्रकै २ वटा गुटको प्रतिबिम्ब हो भन्नेहरुको पनि कमी छैन। उनीहरुका अनुसार प्रधानमन्त्री समेत रहेका ओलीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिहेका छन्।  तर कार्यकर्ताले विभाजन विरूद्ध गरेकाे खबरदारीले पनि नेकपामा तत्काल फुट आइनहाल्ने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *