नेकपाको आन्तरिक विवादमा राष्ट्रपति भण्डारीको ‘इन्ट्री’, बामदेवलाई शीतल निवासमा बोलाइयो

डिसी नेपाल
१८ कार्तिक २०७७ २०:०५

काठमाडौं। सत्तारुढ नेकपामा आन्तरिक विववाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको असमझदारीले पार्टी विभाजनकै जोखिम निम्त्याएको नेकपाकै नेताहरुले बताइरहेका बेला तत्कालिन एमालेकी उपाध्यक्ष रहिसकेकी राष्ट्रपति भण्डारी सक्रिय भएकी हुन्।

नेकपा विभाजन हुनेतर्फ अगाडि बढेको भन्दै नेकपा नेताहरुको दौडधुप भइरहेका बेला मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवासमा बोलाएर पार्टी एकता जोगाउन भनेकी छन्।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार शीतल निवासबाट बोलाइएपछि मंगलबार उपाध्यक्ष गौतम शीतल निवास पुगेका थिए। भेटमा भण्डारीले नेकपामा देखिएको विवादलाई समाधान गर्नुपर्ने पार्टी बलियो बनाउनुपर्ने भन्दै पार्टी एकता बलियो बनाउने गरी भूमिका खेल्न उपाध्यक्ष गौतमलाई आग्रह गरेकी थिइन्।

नेकपाको नौ सदस्यीय सचिवालयमा गौतम जता लाग्यो उतै बहुमत पुग्ने अवस्था छ। यसअघि पनि नेकपामा देखिएका विवादमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई साथ दिएपछि विवादहरु सम्झौतामा टुंगिँदै आएका छन्।

गएको शनिबार खुमलटारमा भएको खेलमा गौतम पनि सहभागी भएपछि ओली सचिवालयमा अल्पमतमा परेका छन्। त्यसैले गौतमको भूमिका नेकपाको आन्तरिक विवादमा महत्वपूर्ण हुने गरेको छ। तर, पार्टीसँगको आवद्धता त्यागिसकेकी र राष्ट्रकी अभिभावक तथा संविधानको संरक्षकका रुपमा रहेकी राष्ट्रपति भण्डारी कुनै दलको आन्तरिक विवादमा इन्ट्री गर्नुले उनको भूमिका विवादास्पद हुने देखिएको छ।

राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकाललले यो भेटबारे आफूलाई जानकारी नभएको बताए। उनले डिसी नेपालसँग भने, ‘म ६ बजेसम्म शीतल निवासमै थिएँ। त्यतिबेलासम्म कसैसँग भेट भएको थिएन। कसैलाई भेट्ने कार्यक्रम पनि थिएन।’

नेकपामा विवाद बढ्दै जाँदा राजनीतिबाट टाढा बसिरहेका तत्कालिन एमालेका नेता प्रदीप नेपाललाई पनि यो विवादमा इन्ट्री गराइएको छ। केही दिनअघि प्रधानमन्त्रीका तीनजना सल्लाहाकार र एकमन्त्रीले उनलाई भेटेका थिए भने सोमबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनलाई भेटेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *