संसद् भवन र परिसर आकर्षक बनाउन मन्त्रीको श्रेष्ठ निर्देशन

डिसी नेपाल
१८ कार्तिक २०७७ २०:५८

काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद् अधिवेशन हुनुअघि व्यवस्थापिका–संसद् भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन् । उनले संसद् भवनको सरसफाइ र सौन्दर्य कायम गर्नका लागि कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिएका छन् ।

मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, हाल व्यवस्थापिका संसद् भवनको निरीक्षण गर्न आज अपराह्न केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिए । मन्त्रालयअन्तर्गत रहेको सो भवन २०६५ सालदेखि संसद् भवनको रुपमा प्रयोग हुँदै आएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको प्रकाश र ध्वनि प्रणालीलाई व्यवस्थित गर्न पनि निर्देशन दिए ।

उनले संसद् भवनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरेका थिए । सिंहदरबारमा निर्माणाधीन संसद् भवन तयार नभएसम्म सोही भवनमा संसद् अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मतसम्भार गरी भवनलाई साँच्चिकै संसद् भवनका रुपमा पहिचान गराउनुपर्ने बताए।

मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद् भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिए । केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले १५३ क्षेत्रफलमा रहेको सो भवनका आठ कक्षमा करीब दुई हजार क्षमता रहेको र करीब चार सय सवारी पार्किङ गर्न मिल्ने पार्किङस्थल रहेको बताए ।

उनले साबिकको बानेश्वर ब्यारेकका नाममा रहेको जग्गाको स्वामित्व केन्द्रका नाममा ल्याउनुपर्ने, नीतिगत रुपमा केन्द्रको गठन आदेश, कर्मचारी सेवाशर्त र आर्थिक नियमावली संशोधन गर्नुपर्नेलगायत समस्या रहेको जानकारी गराए । उनले संसद् अधिवेशन सञ्चालन गर्न सबै व्यवस्थापन केन्द्रले नै गर्दै आएको बताए । केन्द्रअन्तर्गत हाल १०८ कर्मचारी कार्यरत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *