ढाकाटोपीमा भारतीय सेनापतिले गरे पशुपति मन्दिरको दर्शन
काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय सेनाका सेनापति मनोजमुकुन्द नरभनेले नेपाली ढाकाटोपीमा भगवान पशुपतिनाथको दर्शन गरेका छन्। सिभिल ड्रेसमा भ्रमणदलका साथ पशुपतिनाथको मन्दिर पुगेका उनका लागि पशुपतिनाथको आरती गर्ने व्यबस्था मिलाइएको थियो। समाचारअनुसार, उनले हनुमानढोकास्थित कुमारी मन्दिरको पनि दर्शन गरेका छन्।
कोरोना महामारीका कारण पशुपतिनाथको मन्दिर विगत लामो समयदेखि बन्द रहेको छ। भगवान पशुपतिनाथको नित्य पूजा पूजारीले वाहेक अरुले गर्ने गरेका छैनन्। पशुपति क्षेत्र विकास कोषले तयार गरेको प्रोटोकलअनुसार, मन्दिरभित्र पसी भगवानको दर्शन गर्न कसैलाई पनि अनुमति दिइएको छैन।
भारतीय सेनाका सेनापति नरभनेले पशुपति क्षेत्र विकास कोषद्वारा तयार गरिएको प्रोटोकललाई आदर गर्दै बाहिरैबाट मन्दिर परिसरको दर्शन गरेका हुन्। त्यसै गरी आर्यघाटतर्फ सधैं गरिने सांझको आरती कार्यक्रममा उनी सरिक भई आफ्नो नामबाट उनले पशुपतिनाथको आरती गरेका थिए। नेपाली सेनाले तयार गरेको कार्यक्रमअनुसार नै उनले पशुपतिनाथ मन्दिर परिसरको दर्शन र आरती गरेका थिए।
मन्दिर दर्शन तथा आरतीका बेला उनले नेपाली ढाकाटोपी लगाएको देखिएको छ। त्यसैगरी कोभिडकै कारण बन्द रहेको कुमारी मन्दिरको दर्शनमा पनि उनले प्रोटोकलअनुसार नै मन्दिर परिसरको दर्शन गरेका हुन्।
तीनदिने भ्रमणका क्रममा बुधबार काठमाडौं आएका नरभनेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवीले विभुषित गर्ने कार्यक्रम छ।
Facebook Comment