ट्रम्प र बाइडनलाई जित्नका लागि अब के चाहिन्छ ?

डिसी नेपाल
२० कार्तिक २०७७ ६:२३

बीबीसी। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा परम्परागत रूपमा नै मतपरिणामको रात भनिने गरिएको समयावधि अब लम्बिएर मतपरिणामको सप्ताह होला जस्तो देखिएको छ।

चुनावमा निर्णायक विजय हासिल गर्नका लागि उम्मेदवारहरूको हकमा के के हुनुपर्छ त अब?

मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलन देखि लिएर झिनो मतान्तरले डोनल्ड ट्रम्पको विजय हुनेसम्मका प्रक्षेपणहरू थिए।

तिनमा डोनल्ड ट्रम्पले कुल राष्ट्रव्यापी बहुमत हासिल गर्नुको साटो इलेक्टरल कलेजको ठूलो मतसङ्ख्याका कारण विशेष महत्त्व पाएका सङ्ग्रामस्थल निर्वाचन क्षेत्र भनिएका राज्यहरूमा जित हासिल गरेर आफ्नो पुन:नियुक्ति गर्न सक्ने कुराहरू पनि थिए।

रातभरिमा पनि नसकिएर लम्बिन पुगेको मतगणनाको समयावधिपछि जो बाइडनले ल्यान्डस्लाइड अर्थात् अत्यधिक बहुमतले जित हासिल गर्न सक्ने भन्ने अनुमानको ठाउँ अब बाँकी रहेन।

अब जसले जिते पनि त्यो झिनो मतान्तरले अन्तिम निर्णय हुने अवस्था देखिएको छ। अनि त्यो अब कससको पक्षमा कसरी र कति समयपछि हुन्छ भन्ने कुरा महत्वपूर्ण बनेर आएको छ।

डोनल्ड ट्रम्पले आफ्नो जित भएको भनेर पहिले नै दाबी गरिसकेका छन् र उनले विपक्षीहरूलाई निर्वाचनमा धाँधली गरेको आरोप पनि लगाइसकेका छन्।

तर अहिलेसम्मको अवस्था हेर्दा निर्वाचनमा धाँधली भएको भनेर पुष्टि भएको अवस्था देखिएको छैन। अझै पनि विधिसम्मत तरिकाले मतदान गरिएका मतपत्रहरूको गणना हुने क्रम जारी नै रहेको छ। अब मतपरिणामको प्रतिस्पर्धा केही थोरै राज्यको हकमा मात्रै बाँकी छ।

एरिजोना बाइडनको पक्षतर्फ अघि बढ्दै गरेको हो की जस्तो देखिएको छ। त्यसको अर्थ डेमोक्र्याटहरूले विस्कन्सिन,मिशिगन र पेन्सिल्भेनिया जस्ता राज्यमा जिते मात्रै उनीहरूको विजय सुनिश्चित हुनसक्छ।

ती तीनै राज्यमा बाइडनले ट्रम्पलाई पछ्याइरहेका छन्। तर अब गन्न बाँकी रहेका मतहरू डेमोक्र्याटहरूको पक्षमा हुनसक्छन् जुन उनलाई अगाडि पुर्‍याउन पर्याप्त हुन पनि सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *