नेम्वाङसँग प्रचण्डले भने– प्रधानमन्त्रीसँग वार्ता गरेको गर्‍यै गर्छु

डिसी नेपाल
२१ कार्तिक २०७७ १२:०४

काठमाडौं। बिहीबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलको बिफ्रिङ गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट सचिवालय सदस्यलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन्। बिहीबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग अबदेखि वार्ता गर्न बालुवाटार नछिर्ने बताएको समाचार सार्वजनिक भएको थियो।

दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपना आएपछि शुक्रबार विहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रचण्ड निवास खुमलटार पुगेका थिए। नेम्वाङले प्रचण्डलाई बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि तपाईँले अबदेखि वार्ता गर्न बालुवाटार छिर्दिन भन्नु भएको हो? भनेर प्रश्न गरेका थिए।

जवाफमा प्रचण्डले आफूले त्यसो नभएको बरु आज सचिवालय सदस्यहरुसँग धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएको र त्यसपछि प्राधनमन्त्रीसँग वार्ता गर्न बालुवाटार जाने भन्ने जवाफ दिएका थिए।

‘मैले सुरुमै उहाँलाई (प्रचण्ड) तपाइँले हिजो प्रधानमन्त्रीसँग भेटेपछि वार्ता गर्न बालुवाटार छिर्दिन भन्नु भएको हो भनेर सोधेँ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘तर उहाँले त्यो दुई सय प्रतिशत गलत हो। बरु मैले आज धुम्बाराहीमा सचिवालयका सदस्यको अनौपचारिक बैठक बोलाएको छु। त्यसपछि प्रधानमन्त्रीसँग वार्ता गर्न जान्छु भनेको हो। साथीहरुले के के लेखे छन्। मैले त झन वार्ता गरेको गर्यै गर्छु पो भनेको हो भन्ने जवाफ दिनु भयो।’

दुई अध्यक्षबीचको विवाद उत्कर्षमा पुगेपछि नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। खुमलटारबाट नेम्वाङ सिधै बालुवाटार प्रवेश गरेका छन्। उनले प्रचण्डसँग भएको छलफलका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *