अब काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क खाना खुवाउन नपाइने
काठमाडौं। मंसिर २ गतेदेखि खुल्लामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिक स्थलबाट भोजन सेवा (निःशुल्क भोजन) नगराउने सहमति भएको छ। खुल्ला क्षेत्रबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा शुक्रबार काठमाडौं महानगर र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका पक्षबीच भएको छलफलपछि यस्तो सहमति भएको हो।
उक्त छलफल निःशुल्क भोजन व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियसन एसोसिएसन, लायन्स क्लव अफ काठमाडौं, न्यु ग्रीन सिटी, सेभ्स एशोसिएसन अफ नेपाल, हाम्रो सानो प्रयास, गसीब क्वीन नेपाल हन्डे«ड ग्रुप, भक्त वी. वी. फर ह्युमानिटीलगायत संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए। यसैगरी महानगरका निर्देशकहरु हरिबहादुर कुँवर, बसन्त आचार्य तथा नगर प्रहरी नायव उपरीक्षक राजु पाण्डे र दिनेश अर्याललगायत अधिकारीहरु सहभागी थिए।
छलफलमा खुल्ला ठाउँमा खाना खुवाउँदा उत्पन्न भएको सामाजिक प्रतिष्ठा, महामारीको जोखिम बढ्न सक्ने खतरा बिषयमा कुरा गरिएको थियो। त्यही छलफलले निःशुृल्क भोजन गराउन चाहने संघसंस्था तथा अभियन्ताले मंसिर १ गते पर्ने भाइटीकाका दिनसम्ममा बैकल्पिक व्यवस्था गरिसक्ने सहमति भएको छ। २ गते प्रदान गरिने भोजनका लागि वडा र महानगरको समन्वयमा व्यवस्था गर्ने र त्यसै दिनदेखि खुल्ला मञ्चलगायत सार्वजनिक कुनै पनि ठाउँमा निःशुल्क भोजनको व्यवस्था नगर्ने सहमतिमा उल्लेख छ।
‘काठमाडौं महानगरपालिका अमानवीय काम गर्दैन। कसैसँग मुठभेड गर्दैन’, सहमतिपछि प्रतिक्रिया दिँदै मेयर बिद्यासुन्दर शाक्यले भने, ‘हामीले मानवीय संवेदना बुझेका छौं।’
बन्दाबन्दीका समयमा महानगरले १ लाख ५० हजार परिवारलाई राहतस्वरुप रासन वितरण गरेको उनले बताए। यसैगरी २ लाख ५० हजार व्यक्तिलाई निःशुल्क भोजन गराएको, वेसहारा, रोगी, असक्तलाई हामीले मानव सेवा आश्रमसँगको सहकार्यमा लालन पालन र संरक्षण गरिरहेको उनले बताए। उनले अगाडि भने, ‘जो काम गर्न सक्नुहुन्छ। उहाँहरुलाई रोजगारी दिन्छौं। जो शारीरिक र मानसिक रुपमा काम गर्न सक्नुहुन्न, उहाँहरुलाई पारिवारिक पुनर्मिलन गराउने वा त्यो सम्भव नभए लालनपालन, औषधोपचार र संरक्षण गर्छौं।’
‘दाताहरुले खाना खुवाएको हाम्रो विरोध वा असहमति होइन। तर खाने खानेहरुको सामाजिक प्रतिष्ठा र स्वास्थ्य सुरक्षा सम्बन्धि चासो भने अवश्य हो।’ मेयर शाक्यले थप्दै भने, ‘खुल्ला मञ्चको खाटो पार्टी प्यालेसतिर व्यवस्था गरौं। यसो गर्दा खाना खान आउने कसैको पनि आत्मसम्मानमा आँच आउँदैन। यसकालागि आवश्यक थप खर्च हामी व्यहोर्न तयार छौं। मानिसहरुलाई एकै ठाउँमा भेला गर्नुको साटो, जहाँ जहाँ आवश्यक हुन्छ। त्यस ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गरौं। यसले महामारी नियन्त्रणमा सघाउ पु¥याउँछ।’
Facebook Comment