फर्किए भारतीय सेना प्रमुख, भ्रमण सफल भएको नेपाली सेनाको भनाई
काठमाडौं। भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले बिदाइ गरे।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार उनी यहाँ आएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नै आयोजित विशेष समारोहमा सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन्। भारतीय सेनाध्यक्षले दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न आवश्यक चार एम्बुलेन्स, चार भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री एवं उपकरण नेपाली सेनालाई बिहीबार हस्तान्तरण गरेका थिए। उन बुधबार वसन्तपुर क्षेत्र र पशुपतिनाथको पनि दर्शन गरेका थिए।
नेपाल र भारतीय सेनाबीच एकार्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन्।
समकक्षी थापा र सेनाध्यक्ष नरवणेबीच आपसी सुरक्षा चासोका विषयमा भएको खुला छलफलमा दुवै सेनाबीच उच्चस्तरीय भ्रमण र तालीमलगायत अन्य सहयोगका क्षेत्र थप विस्तार गर्दै जाने विषयमा गहन विचारविमर्श भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले शुक्रबार शिष्टाचार भेट गरेका थिए। यसअघि सेनाध्यक्ष नरवणेले शिवपुरीस्थित सैनिक कमाण्ड कलेजमा शिक्षार्थीसँग आफ्नो सैनिक जीवनको अनुभव सुनाउँदै अन्तरक्रिया गर्नाका साथै हवाइजहाजबाट हिमालय क्षेत्रको दृश्यावलोकन गरेका थिए। नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत सम्बन्ध सुदृढ गर्न यो भ्रमण फलदायी भएको दुवै सेनापतिले विश्वास व्यक्त गरेका छन्।
Facebook Comment