च्याउको बीउ वितरण गर्दै शिवपुरी गाउँपालिका

डिसी नेपाल
२२ कार्तिक २०७७ २०:०७

नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा च्याउको बीउ वितरण गर्ने भएको छ ।

गाउँपालिकाको आव २०७७/७८ को स्वीकृत वार्षिक कृषि विकास कार्यक्रम अन्तरगत गाउँपालिका भित्र रहेका ८ वटै वडाका स्थानिय कृषक, समुह तथा सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गर्न लागिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

च्याउको बीउ प्राप्त गर्न ईच्छुक किसान, किसान समुह तथा सहकारीहरुले मंसिर ३ गतेभित्र कम्तिमा २० प्याकेट बीउ माग सहितको निवेदन, नागरिकताको प्रतिलिपी र वडाको सिफारिस सहित पेश गर्न गाउँपालिकाले सूचना जारी गरेको छ।

निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि अनुदानमा सिताके, कन्य र गोब्रे च्याउको बीउ वितरण गर्न लागिएको शिवपुरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद न्यौपानेले जानकारी दिए । सिताके, कन्य वा अन्य च्याउखेती गरिरहेका कृषकहरुलाई बीउ वितरणमा विशेष प्राथमिकता दिईने सुचनामा उल्लेख गरिएको छ ।

उन्नत प्रविधिको प्रयोग गरी च्याउखेती गर्नका लागि गाउँपालिकाको कार्यालयले कृषकलाई निकट भविष्यमा च्याउखेती बारे तालिम सन्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको भनाई रहेको छ । पछिल्लो समयमा च्याउखेतीतर्फ शिवपुरीका कृषकको आकर्षण बढ्दै गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *