कोरोना प्रभाव : लकडाउनपछिको कर्मथलो प्रवेशमा पनि पीडा
काठमाडौं। कैलालीका राधेश्याम चौधरी आइतबार दिउँसो १२ बजे काठमाडौं उत्रिए। काठमाडौंको बाफलमा बस्दै आएका चौधरी आइतबार कलंकी मै झरेर बाफल तिर लागे। लगाउने कपडाको झोला भिरेका उनको अनुहारमा कत्तिपनि कान्ति थिएन।
मनको शान्तिले अनुहारमा कान्ति ल्याउने हो। सायद अशान्त छ राधेश्यामको मन। सपनाको शहर काठमाडौंमा पाइला टेक्ने सबै अनुहार हसिँलो हुन्थ्यो। उनीहरुमा एक प्रकारको स्फूर्ति हुन्थ्यो। सुनौलो भविष्यको परिकल्पनाले प्राय नेपालभरका युवायुवतीलाई काठमाडौंले आकर्षित गर्ने गर्छ।
खाली हात काठमाडौं छिरेकाहरु राज्य संचालन गर्ने ठाउँमा पुगेका धेरै उदाहरणहरु छन्। काठमाडौं उपत्यकाले धेरैको जीवन हराभरा बनाएको छ। झर्न लागेका आशाका पुष्पहरु पुनः पल्लवित हुन खोज्छन्। तर, राधेश्यामका आशाका पुष्पहरु पल्लवित हुनुको साटो ओइलाउने तयारीमा देखिन्थे। मोतीहरुको सागरमा पाइला टेकेपछि मलिन अनुहार भित्रको कथा खोज्ने कोसिश ग-याैं।
‘काठमाडौं बस्दै आएको धेरै भयो,’ राधेश्यामले भने, ‘अहिले अवस्था फरक छ। काम गरेर खाने हामीलाई काठमाडौमा काम छैन। मेरो पनि चैत्रबाट काम छैन। चैत्रमै घर गएको हुँ। बालबच्चासँग दशैं मनाउँदा पनि पहिलेको जस्तो आनन्द अनुभव भएन।’
सपनाको शहर काठमाडौंमा पाइला टेक्ने सबै अनुहार हसिँलो हुन्थ्यो। उनीहरुमा एक प्रकारको स्फूर्ति हुन्थ्यो। सुनौलो भविष्यको परिकल्पनाले प्राय नेपालभरका युवायुवतीलाई काठमाडौंले आकर्षित गर्ने गर्छ।
कोरोनाको प्रभावले राधेश्यामलाई मात्र नभई हेरैको अनुहारको हासोँ उतारेको छ। गत चैत्रदेखि नेपालभर भएको लकडाउनका कारण सरकारी सेवामा भएका कर्मचारी र केही निजी कम्पनीका कर्मचारी बाहेक धेरैको रोजगार घुमेको छ। राधेश्यामले निर्माण सम्बन्धि काम गर्छन्। कोरोनाको प्रभावका कारण निर्माण सम्बन्धि कामहरु पनि ठप्प भएका कारण उनको रोजगारी गुमेको हो।
‘काठमाडौं बस्ने बानी भयो। काठमाडौंकै बसाईबाट १० कठ्ठा खेत जोडेको छु। परिवारलाई पाल्न समस्या त छैन,’ राधेश्याम सुनाउँदै थिए, ‘उनीहरुको अन्य आवश्यता पूर्तिका लागि मेरो प्रवास अनिवार्य छ। अहिले यस्तो हालतमा भारत तर्फ जाउँ भने पनि सम्भव छैन। काठमाडौंमा त चिनेजानेका साथीहरु छन्। कहिँ कतै केही विकल्प निस्केला भन्ने सोचले काठमाडौं फिर्ता भएको हुँ।’
राधेश्यम जस्तै सुर्खेतबाट विपना मल्ल पनि काठमाडौं फिर्ता भएकी छन्। सुकेधारामा व्यूटिपार्लर गर्ने मल्ल पनि बसपार्क नपुग्दै बालाजु चोकमा बसबाट झरेकी थिइन्। करिव १ बजे सुर्खेतको बस काठमाडौं आइपुगेको थियो। नयाँ वसपार्कमा आउने बसको इन्ट्री १ बजे पछि नहुने भन्दै उनीहरुलाई बालाजुमै झार्नु परेको सहचालकले बताए।
‘हामीलाई अब बसपार्क भित्र जान दिँदैनन् त्यसैले यँही झारेको हो, ‘बैशाखदेखिको भाडा बुझाएकी छैन,’ विपनाले भनिन्, ‘अब त सबै तिर खुल्यो। पार्लर पनि खुल्छन् होला भनेर आएकी हुँ। झण्डै १ लाख ५० हजार भाडा भएको छ। उहाँहरु (घरधनी)लाई भाडा पनि दिनु पर्यो। खुलेसम्म काम पनि गर्नु पर्यो भनेर आएकी हुँ।’
सपनाको शहरमा विपनाको मन पनि त्यति उत्साहित थिएन। घरधनीलाई भाडा तिर्न आफूले ऋण खोजेर पैसा ल्याएको उनले सुनाइन्। उनले भनिन्, ‘ऋण गरेर पैसा ल्याएर आएकी छु। पार्लर संचालन गरेको ऋण पनि छ। ऋणमाथि ऋण थपिएको छ। कसरी बस्नु घरमा। काठमाडौंमा आएर पनि यही समस्या समाधान होला भन्ने त छैन तर, पनि विकल्पको खोजी समस्याकैबीचमा हुन्छ भन्ने ठानेकी छु।’
काठमाडौंलाई कर्मथलो बनाएकाहरु काठमाडौं फर्किए झै भारतमा कर्मथलो बनाएकाहरु पनि भारत फर्किका छन्। भारतको उत्तराखण्डमा रहेका मिलन शाही दशैं सकिए लगतै भारत फिर्ता भएको अनुभव सुनाउँछन्। अछाम घर भएका शाहीले कोरोना सुरु भयो भन्दा घर फर्केको र दशैंसम्म बस्दा २ लाख ऋण लागि सकेकाले पनि भारत फिर्ता हुनुको विकल्प नभएको तितो अनुभव सुनाए।
उनले भने, ‘स–साना लालाबाला छोडेर परदेशिने मन कसकोे हुन्छ र ? मलाइ पनि घरै बस्न मन थियो। बैसाख घर आएँ। २ लाख ऋण लाग्यो। अब परदेश जानुको विकल्पै रहेन।’ उनले आफूले घरमा बस्न मन भए पनि ऋण लागेकोले पुरानै मालिककोमा काम गर्न फिर्ता भएको सुनाए।
राधेश्याम, विपना र मिलनको कर्मथलो प्रवेशले सिंगो समाजको प्रतिनिधित्व गरेको छ। लकडाउनपछिको कर्मथलो प्रवेशमा कुनै पनि हर्ष छैन। उनीहरु कर्मथलोको प्रवेशमा पनि आफूलाई असन्तुष्टि मिलेको बताउछन्। उनीहरु लगाएत धेरैको कर्मथलो प्रवेशमा पीडा छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले विश्वभर करिव २५ करोडको रोजगारी गुम्ने अनुमान गरेको थियो। नेपालमा पनि करिव १० लाखको रोजगारी गुम्ने पूर्वानुमान गरिएको थियो। भारतसँग खुल्ला सिमाना भएका कारण नेपाल फर्किका धेरै कोरोना महामारीको बीच पनि भारत पसेका छन्। कोरोनाको डरले आफ्नो घर फर्केका सबै कार्यस्थलमा फर्किन थालेका छन्।
Facebook Comment